काठमाडौं । केन्द्रीय बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले ४२ दिने निक्षेप संकलन गर्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ १५ गते हुनेछ । केन्द्रीय बैंकले साउन लागेपछि यो पहिलो पटक तरलता प्रशोचन गर्न लागेको हो।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ।
राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको पौने ७ खर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफमा राखेको उक्त रकम केन्द्रीय बैंकमा रहेको छ।
कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रुपमा घटेको छ । राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशतमा झरेको छ।
लगानीयोग्य रकम ९ खर्ब ५० अर्ब
पछिल्लो एक वर्ष यता वित्तीय प्रणालीमा साढे ६ खर्ब लगानीयोग्य रकम रहदै आएको छ । पछिल्लो समयमा रेमिट्यान्समा आएको सुधारले पनि बैंकिङ प्रणालीको निक्षेप बढ्दै गएको हो । गत आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीमा जोड गरेकाले पनि लगानीयोग्य रकम थपिदै गएको हो ।
कर्जा प्रवाहलाई प्रवद्र्धन गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोर झनै घटाएको छ । जसअनुसार नीतिगत दर ४.५ प्रतिशत, बैंक दर ६ प्रतिशत र निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरिएको छ ।
हाल बैंकिङ प्रणालीमा ७२ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ६५ खर्ब ११ अर्ब पुगेको छ । अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ५५ अर्ब रहेको छ ।
यस अवधिमसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको कर्जा ४९ खर्ब ६५ अर्ब पुगेको छ । अन्य संस्थाहरुले ६ खर्ब २४ अर्ब कर्जा परिचालन गरेका छन् । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७५.९१ प्रतिशत कायम भएको देखाएको छ । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । यसलाई हेर्दा बैंकहरुसँग ९ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
आर्थिकन्यूज