शीर्षकहरू

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई लाभांश वितरणमा कडाई, राष्ट्र बैंकले तोक्यो यस्ता शर्त

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई लाभांश वितरणमा कडाई, राष्ट्र बैंकले तोक्यो यस्ता शर्त

काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थालाई लाभांश वितरणमा कडाई गर्दै  लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । यो मार्गदर्शन बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाका लागि भएको राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

यस्ता संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्न निर्देशन दिएको छ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

लाभांश नीतिमा नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकता सम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गर्नुपर्नेछ । अनुमतिपत्रप्राप्त संस्थाले जोखिम बहन कोष तथा जगेडा कोषको व्यवस्था गरी यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनु पर्नेछ ।

जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ ।कोषहरुबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ । त्यस्तै राष्ट्र बैंकले तोकेका अन्य कोषहरुमा जम्मा गर्नुपर्ने रकम  छुट्याउनुपर्नेछ ।

लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ , यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको हुनुपर्नेछ । संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ। 

शेयर प्रिमियम एवं ब्रागेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्नेछ । नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्नेछ ।

संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको, राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको अवस्थामा मात्र लाभांश वितरण गर्न पाउनेछन् । 

यस्ता संस्थाहरुले राष्ट्र बैंकले तोकेको विभिन्न कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन्। लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।

संस्थाको संचित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय, लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र, तोकिएका कोषहरुमा रकम छुट्याइएको विवरण, संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेश गर्दा ६ महिना व्यतित नभएको हुनुपर्नेछ ।  बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितको स्वःघोषणा गनुपर्नेछ ।

मार्गदर्शनले मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने, नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने, यस्ता संस्थाको कारोबारको निरन्तर अभिबृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्र बैंकको भनाई छ ।  

त्यस्तै भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाको यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने, समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिबृद्धि हुने जनाएको छ । 

यो मार्गदर्शनको कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको बृद्धि तथा विकास हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास राष्ट्र बैंकको छ ।