काठमाडौ । सरकारले शेयर बजारलाई थप प्रोत्साहन गर्ने नीति लिएपछि शेयर कारोबारमा उत्साह थपिँदै गएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेका व्यवस्थाहरु कार्यन्वयनमा आएसँगै शेयर बजारको रौनक फेरिएको छ । यसले लगानीकर्तामा उर्जा थपेपछि पछिल्लो २ कारोबार दिनमै ३८ अर्ब बराबरको शेयर किनबेच भएको छ । कारोबार बढेपनि प्रोफिट बुकिङको प्रेशर थेग्न नसक्दा नेप्से सूचक भने झिनो अंकले मात्र बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो साउन १ गते बिहीबार शेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आवको दोस्रो कारोबार दिन आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड बराबरको कारोबार भएको छ । साउन लागेपछिका २ कारोबार दिनमै ३८ अर्ब बढीको कारोबार भएको छ ।
आइतबार कारोबारमा उत्साह देखिएपनि प्रोफिट बुकिङको प्रेशर थेग्न नसक्दा नेप्से सूचक नकारात्मक रह्यो । इन्ट्रा डे मा ५२ अंकसम्म बढेको नेप्से बजार बन्द हुने समयसम्म ०.३२ अंकले मात्र बढेर बन्द भएको छ । गत विहीबार नेप्से ७५.८४ अंक अर्थात् २.७१ प्रतिशतले बढेर २८७०.६३ बिन्दुमा पुगेको थियो । त्यस अघिका २ दिन पनि नेप्से सूचक लगातार ३४ अंकका दरले बढेको थियो ।
आइतबार नेप्से परिसूचक ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ । यसदिन नेप्सेमा कारोबारमा आएकामध्ये १०५ कम्पनीको शेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ । यस दिन ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२६ प्रतिशत घटेको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले अघिल्लो शुक्ररबार आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जा सीमा १० करोडले बढाएका थिए । बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जाको सीमा १५ कररोडबाट बढाएर २५ करोड कायम गरिएको छ ।शेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन आग्रह गर्दै आएका थिए । शेयर धितोकर्जाको कर्जा सीमा बढेपछि लगानीकर्ता शेयर बजारतर्फ थप आर्कर्षित भएका हुन ।
अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा छ । पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउदै लगेका हुन् । बैंकहरुले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.०९ प्रतिशतमा झरेको छ। न्युन ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ताहरु शेयर बजारतर्फ केन्द्रीत भएको पाइएको छ । अहिले शेयर धितो कर्जाको औसत ब्याजदर ८ प्रतिशत भन्दा तल नै रहेको छ।
त्यस्तै, बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएका छन्। बैंकहरूले हकप्रद शेयर जारी गरेर समेत पुँजी वृद्धि गर्न पाउने व्यवस्था भएपछि यसको प्रभाव पनि बजारमा देखिएको हो । साथै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरवलोकन गर्ने भएको छ । यसले पनि लघुवित्तीय कम्पनीहरुमा लगानीकर्ताको आर्कषण देखिन्छ ।
यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमालाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमालाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर थप घटाउने आकँलन गरिएको छ । निक्षेपको ब्याजदर घट्दा शेयरजस्ता अन्य क्षेत्रमा लगानी बढ्ने गरेको छ । सामान्यतः निक्षेपको ब्याजर दर घट्दा शेयर बजार उकालो लाग्छ र ब्याजदर बढ्दा बजार घट्ने विश्लेषण रहेको छ।
त्यस्तै, अधिकांश वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२–०८३ को पहिलो महिना साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाबपछि घटाइएको हो । राष्ट्र बैंकले गत शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने नीति अवलम्बन गरेको थियो।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण प्रकाशनका लागि समय थप भएकाले पनि यसले बैंकहरुको ब्यालेन्स सिटमा सुधार आउने अपेक्षा बैंकर तथा लगानीकर्तामा देखिन्छ । बैंकहरुले साउन महिनाको तेस्रो सातासम्मको असुलीसमेत देखाउन पाउन भएपछि बैंकहरुको नाफामा सुधार आउने आँकलन गरिएको छ । राष्ट्र बैंकले दिएका सहुलियतहरुले नै शेयर लगानीकर्ताहरुलाई उत्साह थपेको लगानीकर्ताहरु बताउँछन् ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको समृद्धि फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९८ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोड नाघेको छ।
आर्थिकन्यूज