काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा एकता महाधिवेशनका लागि सहमति जुटेको छ । आगामी अगष्ट ३० र ३१ एकता महाधिवेशन हुने भएको छ ।
शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ ले अधिवेशनको गर्न सहमति जुटेको हो । मलेसियामा रहेका विभिन्न संघ, संस्था, गैर आवासिय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ सगठनको सहमतिमा मिति तय गरिएको हो । उक्त सहमतीपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको संस्था एकजुट भएको आईसिसि उपाध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
सहमती अनुसार ३०–३१ अगष्ट, २०२५ मा अधिवेशन हुने, नयाँ सदस्यता तथा नविकरणका लागी २१ जुलाईदेखि लागु हुने गरी दुई हप्तासम्म रहने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ ।
‘एकताको निम्ति बृहत भेला’ लाई सम्बोधन गर्दै एनआरएनएका आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्ने बताए । “दुई हप्ता सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, अर्को हप्ता निर्वाचन समिति गठन गर्ने र निर्वाचन सम्पन्न गर्न उनले प्रस्ताव राख्दै भने, “मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको बताए ।” उनले केन्द्रमा जेसुकै विवाद रहे पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य रहेको बताए । “एनसिसि कुनै गुटको होइन । सबै देशका एनसीसीहरु सर्वाधिकार हुन्छन् । मलेसियामा रहेका सबै संघसंस्था र राजनीतिक दलहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ,” न्यौपानेले स्पष्ट पारे ।
एनआरएन मलेसियाका अध्यक्ष राकेश महतोले पनि बृहत भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । “समाजभन्दा बाहिर कोही जान सक्दैन,” तेसैले आफुहरु सबै सहमतिमा आएको उनले बताए । संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी अनुसार अघिल्लो अधिवेशन सम्पन्न भएको भए पनि कार्यान्वयनमा कमजोरी हुँदा समस्या उत्पन्न भएको बताए । “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनले सुझाव दिए ।
नेपालका लागि मलेसियाका पर्यटन दुत एबम रास्वपा मलेसियाका संयोजक नेत्र केसीले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताका साथ सहमति भएकोमा खुशी व्यक्त गर्दै अब सहमतिका साथ अघि बढ्न आह्वान गरेका थिए ।
नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बनिरहेको टिप्पणी गर्दै अब फुट होइन, मिलनको मार्ग अपनाउनुपर्ने आवश्यकतालाई औल्याउँदै अगाडि बढेकोमा आफू खुशी भएको बताए ।
नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको जनाउँदै एनआरएनको गरिमा कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उनले अहिले देखिएको समस्या समाधान भएकोमा आफू खुशी रहेको बताए ।
आर्थिकन्यूज