काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आगामी साउन ७ गतेदेखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका निकालेको हो । सरकारलाई राजस्व र विदेशी सहायताले खर्च धान्नै कठिन भएपछि आन्तरिक ऋण उठाउने कार्य थालेको हो ।
सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय अनुसार पहिलो त्रैमासमा १ खर्ब १३ अर्ब, दोस्रो त्रैमासमा ८५ अर्ब, तेस्रो त्रैमासमा १ खर्ब ९ अर्ब र चौथो त्रैमासमा ५५ अर्ब आन्तरिक उठाउने भएको हो । सरकारले विकास ऋणपत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको बिक्री मार्फत उक्त ऋण उठाउने भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वार्षिक ऋण योजनाले त्रैमासिक तथा उपकरणगत रूपमा आन्तरिक ऋण परिचालन गर्न लिएको लक्ष्यको आधारमा ऋण निष्कासन तालिका तयार गरिएको जनाएको छ । यस तालिकामा कुन समयमा कति रकमको कस्तो उपकरण निष्कासन गरिनेछ भन्ने विवरण उल्लेख गरिएको छ। यसले सम्भाव्य लगानीकर्तालाई आफ्नो लगानी योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कहिले कति उठाउने ?
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा १ खर्ब १३ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। यसअवधिमा १ खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । कार्यालयले १० अर्ब रुपैयाँ बराबरका ३ वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र जारी गर्ने जनाएको छ । यस्तै यस अवधिमा ५ वर्षे २ अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५ वर्षे अवधिको ५० करोडको वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट आन्तरिक ऋण उठाउने भएको हो ।
यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिकदेखि पुससम्ममा ८५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । यसअवधिमा ट्रेजरी बिल मार्फत २५ अर्ब तथा विकास ऋणपत्र मार्फत ६० अर्ब उठाउने उल्लेख गरेको छ । यसअवधिमा ५ अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको ५ अर्ब बराबरको ५ वटा ट्रेजरी बिल र १० अर्ब रुपैयाँ बराबरका ३ वर्षेदेखि १० वर्षे अवधिका ६ वटा विकास ऋणपत्र जारी गर्ने जनाएको छ ।
यसैगरी तेस्रो त्रैमासमा अर्थात माघदेखि चैतसम्ममा १ खर्ब ९ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । यसअवधिमा ट्रेजरी बिल मार्फत ५० अर्ब तथा विकास ऋणपत्र मार्फत ५६ अर्ब उठाउने उल्लेख गरेको छ । यस्तै यस अवधिमा ५ वर्षे अवधिको २ अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५ वर्षे अवधिको ५० करोडको वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट आन्तरिक ऋण उठाउने भएको हो ।
तेस्रो त्रैमासमा ५ अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको ५ अर्ब बराबरको १० वटा ट्रेजरी बिल र १० अर्ब रुपैयाँ बराबरका ३ वर्षेदेखि ९ वर्षे अवधिका ५ वटा विकास ऋणपत्र तथा ६ अर्बको ५ वर्षे विकास ऋणपत्र जारी गर्ने जनाएको छ ।
त्यस्तै, चौथो त्रैमास अर्थात वैशाखदेखि असारसम्ममा ५५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । यसअवधिमा ५ अर्ब बराबरका ११ वटा ट्रेजरी बिल मार्फत ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ ।
आर्थिकन्यूज