काठमाडौं । मलेसियाको लागि कलिङ्ग भिसा निकालिएको भन्ने सूचना भ्रामक रहेको मलेसिया स्थित नेपाली दूतावासले स्पष्ट पारेको छ । कलिङ्ग भिसाका लागि दूतावासले कुनै पनि डिमाण्ड प्रमाणिकरण नगरेकोले यस्तो खालको स्क्याममा नपर्न दूतावासले आग्रह गरेको हो ।
पछिल्लो समय विभिन्न सञ्चार माध्यममा मलेसियामा रहेका केही सेक्यूरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरु मार्फत अवैधानिक रुपमा नेपाली कामदार ल्याउने प्रक्रिया सुरु भएको भन्ने समाचार प्रति दुतावासको ध्याकर्षण भएको जनाएको छ । श्रम स्वीकृतिको प्रक्रिया पूरा नगरी कलिङ्ग भिषा निकालिसकेको भन्ने समाचार प्रति सजग रहन समेत दूतावासले आग्रह गरेको छ ।
दूतावासले सोमबार सुचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणिकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरुलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरुको प्रलोभनमा नपर्न नेपालका मेनपावर व्यवसायीहरुलाई सचेत गराएको छ । साथै वैदेशिक रोजगारीमा मलेसियमा आउन चाहने नेपाली श्रमिकहरुलाई समेत आधिकारिक रुपमा राजदूतावासबाट कम्पनीको मांगपत्र प्रमाणिकरण भए नभएको तथा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनु पूर्व पूरा गर्नुपर्ने सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरे नगरेको विषयमा जानकारी राख्नुहुन र कोही कसैको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।
वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउनका लागि गन्तव्य मुलुकको नेपाली कुटनितिक नियोगबाट सम्बन्धित देशको कुनै कम्पनीमा नेपाली कामदार ल्याउन मागपत्र प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । नेपाली कुटनितिक नियोगबाट प्रमाणित मागपत्र र सम्वन्धित देशको कम्पनीले प्रदान गरेको अख्तियारीका आधारमा वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।
पूर्वस्वीकृति लिइसकेपश्चात राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्ने, कामदारबाट निवेदन लिने, अन्तर्वार्ता लिने लगायतका छनौट प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसपश्चात मात्र कामदारको भिसा प्रक्रिया शुरु हुन्छ । छनौट भएका कामदारको मेडिकल चेकजाँच, बीमा, कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरीसके पछि श्रम स्वीकृति जारी हुन्छ । यी सबै प्रकृया पूरा गरिसकेपश्चात मात्र वैदेशिक रोजगारीमा जान पाइन्छ ।
आर्थिकन्यूज