भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाले विभिन्न कार्यक्रमसहित आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर सोमबार भैरहवामा आयोजना गरिएको खुला रक्तदान कार्यक्रमबाट २६ युनिट रगत संकलन भएको छ । संघको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई व्यवसायी, संघका सदस्य र स्थानीय युवाहरूको उत्साहजनक सहभागिता प्राप्त भएको थियो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष विष्णु प्रसाद खरेलले संघको सफलतामा सबै व्यवसायीको एकता र निरन्तर सहयोग प्रमुख कारक भएको बताए । उनले संघ स्थापना भएको छोटो अवधिमै व्यवसायीहरूको हकहितका मुद्दामा ठोस काम गर्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सशक्त उपस्थिति जनाउँदै आएको छ ।
संघका वर्तमान अध्यक्ष रुमाखर गौतमले लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवा केवल व्यावसायिक मुद्दामै सीमित नभई सामाजिक कार्यमा पनि सक्रिय रहेको उल्लेख गरे । उनले रक्तदान जस्ता कार्यक्रमले समाजप्रति सकारात्मक सन्देश र उदाहरण प्रस्तुत गर्ने बताए । स्थापना दिवसको अवसरमा संघका पदाधिकारीहरूले आगामी दिनमा व्यवसायीको हकहित र सामाजिक उत्तरदायित्वका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आर्थिकन्यूज