काठमाडौं । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ । त्यस्तै, नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा रहेका छन् ।
भन्सार विभागले सार्वजकि गरेको तथ्यांक अनुसार सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख बराबरको निर्यात भएको छ । त्यस्तै, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख बराबरको निर्यात भएको छ । तयस्तै गत आवमा १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख बराबरको कच्चा भटमास तेल र २९ अर्ब २ करोड १९ लाख बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ ।
गत आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो।
गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा गत आवमा आयात १३.२५ र निर्यात ८१.८० प्रतिशतले बढेको विभागको तथ्यांकबाट देखिएको छ । समग्र वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढ्दा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.६९ र निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा १० खर्ब ७१ अर्ब २० करोड बराबरको आयात र २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र ८ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ ।
त्यस्तै चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख बराबरको वस्तु आयात हुँदा २६ अर्ब ३० करोड बराबरको मात्रै निर्यात भएको छ।अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरुसँग नेपालले बढी व्यापार घाटा व्यहारेको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओस लगायत मुलुक छन् । सबैभन्दा धेरै अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार र डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार व्यापार नाफा गरेको विभागको तथ्यांकबाट देखिन्छ ।
बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ । गत आवमा एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख बराबरको डिजेल, ६४ अर्ब १२ करोड ७४ लाख बराबरको पेट्रोल र ६२ अर्ब ५८ लाख ७२ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै ३५ अर्ब ५४ करोड ७३ लाख बराबरको स्मार्टफोन, १८ अर्ब ६२ करोड बराबरको विद्युतीय कार आयात भएको छ ।
विभागका अनुसार कार्पेट १० अर्ब ७७ करोड ६८ लाख, अलैँची ७ अर्ब ६८ करोड ३७ लाख, छुर्पी चार अर्ब ५१ करोड र चिया चार अर्ब २१ करोड बराबरको निर्यात भएको छ ।
विभागका निर्देशक बर्तौलाका अनुसार गत आवमा यी वस्तुको नेपालले निर्यात गरेको भन्दा बढी आयात छ । त्यस्तै मूल्य अभिवृद्धि पनि न्यून रहेको उनको भनाइ छ । “आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन”, उनले भने।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ ।
विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि विसं २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ ।
आर्थिकन्यूज