काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा करिब ३२ अर्ब रुपैयाँको बराबरको विद्युतिय सवारी (कार, जीप र भ्यान) आयात भएको छ । गत आवको साउन देखि असार मसान्तसम्म ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरको ईभी आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यो अवधिमा उक्त रकम बराबरको १३ हजार ५७८ वटा ईभी आयात भएका छन् । जसबाट १९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ बढी राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आवमा ईभी आयात ८६.५१ प्रतिशतले वद्धि भएको छ भने राजस्व ८३.८६ प्रतिशत वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार अधिल्लो आवको एक वर्षमा २१ अर्ब १७ करोड १७ लाख रुपैयाँ बराबरको ७ हजार २८० वटा मात्र ईभी आयात भएको थियो । जसबाट १० अर्ब ७४ करोड ७ लाख रुपैयाँ राजस्व उठेको थियो ।
कुन देशबाट कति आयात ?
गत आवमा सबैभन्दा धेरै ईभी चिनबाट आयात भएका छन् । कुल ईभी आयातको ७५ प्रतिशत चिनबाट आयात भएको तथ्यांकले देखाउँछ । चिनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार २१६ यूनिट आयात भएको छ । जसबाट १५ अर्ब ७४ करोड १५ लाख राजस्व उठेको छ ।
चिनबाट एसेम्बल नभएका ५० किलोवाटसम्मका ९ वटा, एसेम्बल भएका ५० किलोवाटसम्मका २ हजार ८३२ वटा, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ९२ वटा, १०१ किलोवट देखि २०० किलोवाटसम्मका १ हजार २४९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ३२ वटा र ३ किलोवाटभन्दा धेरै मोटर क्षमता भएका २ वटा ईभी आयात भएका छन् ।
कुल आयातको २४ प्रतिशत ईभी भारतबाट आयात भएका छन् । भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन् । जसबाट ३ अर्ब ४३ करोड ९२ लाख राजस्व संकलन भएको छ ।
भारतबाट ५० किलोवाटसम्मका १ हजार ८९६ वटा ईभी आयात हुँदा ५१ किलोवाट देखि १०० किलोवाटसम्मको १ हजार ३३८ वटा, १०१ देखि २०० किलोवाटसम्मका १२ ईभी आयात भएका छन् ।
मलेसियाबाट १०१ देखि २०० किलोवाटका ५० वटा ईभी आयात हुँदा सोही क्षमताका ईभी अमेरिकाबाट १० वटा आयात भएका छन् । २०१ देखि ३०० किलोवाटसम्मका एउटा ईभी अमेरिकाबाट आयात भएको छ ।
जर्मनीबाट १०१ देखि २०० किलोवाटको ३६ र २०१ देखि ३०० किलोवाटको ९ वटा गरी कुल ४५ वटा ईभी आयात भएको छ । दक्षिण कोरियाबाट १०१ देखि २०० किलोवाटका ५ र ५१ देखि १०० किलोवाटको एउटा ईभी आयात भएको छ भने इन्डोनेसियाबाट ५० किलोवाटसम्मका ४ वटा ईभी आयात भएका छन् ।

आर्थिकन्यूज