काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार (आज) तीन वर्षे अवधिको १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५’ विक्री खुल्ला गरेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा कारोबार हुने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ऋणपत्र बुधबार विहान १० बजे देखि अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले उक्त समय सीमा भित्र कार्यालयको डिओएमएस प्रणालीबाट बोलकबोल पेश गर्नुपर्नेछ ।
ऋणपत्र बिहीवार (भोलि) निष्काशन हुनेछ । ऋणपत्रको साँवा २०८५ साउन ८ गते भुक्तानी हुने कार्यालयले जनाएको छ । ब्याज भुक्तानीमा अर्धबार्षिक आयकर लाग्नेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः : निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलदाताहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएसम्म बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरुलाई विक्री गरिनेछ । अप्रतिस्पर्धी बोलदाताहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदाताहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिनेछ ।
बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
ऋणपत्र घटीमा पाँच लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ पाँच लाखले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सकिनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलदाताको रुपमा मात्र भाग लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजातपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन ।
प्रतिस्पर्धी बोलदाताले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ । इच्छुक बोलदाताले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलदाताले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलदातालाई उक्त ऋणपत्र बाँडफाँड गरिनेछ । नेपाल राष्ट्र बैंकमा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था बाहेकका बोलदाताले आफुले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुन अर्नेष्ट मनी बापतको रकम आवेदन खातामा जम्मा गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त अर्नेष्ट मनी बापतको रकम र बाँडफाँट स्वीकृत भएको रकम आ आफनो खातामा मौज्दात कायम गर्नुपर्नेछ ।
व्यक्तिले बोलकबोलमा भाग लिएमा, अर्नेष्ट मनी जम्मा गरेको भौचर र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्था बाहेकका सफल बोलदाताले बिहीबार एक बजेभित्र नेपाल राष्ट्र बैंकमा रहेको ऋणपत्र आवेदन खातामा बाँकी रकम जम्मा गरी भौचर कार्यालयमा पठाउनु पर्नेछ । बाँकी रकम दाखिला नगरेमा अर्नेष्ट मनी बापतको रकम जफत हुनेछ ।
अस्वीकृत बोलदाताहरुको अर्नेष्ट मनी बापतको रकम यस सम्बन्धी निर्णय भएको मितिले तीन दिनभित्र बिना ब्याज फिर्ता हुनेछ । प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार ऋणपत्र निष्कासन तथा सञ्चालन समितिलाई हुनेछ ।
सरकारले चालु आवका तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
कार्यालयले साउन देखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण संकलन गर्ने कार्यतालिका नै सार्वजनिक गरेको छ । तालिका अनुसार सो तीन महिना अवधिमा एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र जारी गरिनेछ । १० अर्ब बराबरका तीन वर्षे अवधिका ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गरिनेछ । पाँच वर्षे अवधिका दुई अर्ब ५० करोडको नागरिक बचतपत्र, ५० करोडको वैदेशिक रोजगार बचतपत्र विक्री गरिनेछ ।
यस्तै, चालु आवको दोस्रो त्रैमास अवधिमा ८५ अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी छ । तेस्रो त्रैमास अवधिमा एक खर्ब नौ अर्ब आन्तरिक ऋण संकलन गरिनेछ भने चौथो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण संकलन गरिनेछ ।
आर्थिकन्यूज