काठमाडौं । केन्द्रीय बैंकले आज ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले ५६ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १ गते हुनेछ । केन्द्रीय बैंकले साउन लागेपछि दोस्रोे पटक तरलता प्रशोचन गर्न लागेको हो। केन्द्रीय बैंकले गत आइतबार मात्रै ५० अर्ब तरलता प्रशोचन गरेको थियो ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ।
राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको पौने ७ खर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफमा राखेको उक्त रकम केन्द्रीय बैंकमा रहेको छ । कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रुपमा घटेको छ । राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशतमा झरेको छ।
पछिल्लो एक वर्ष यता वित्तीय प्रणालीमा साढे ६ खर्ब लगानीयोग्य रकम रहदै आएको छ । पछिल्लो समयमा रेमिट्यान्समा आएको सुधारले पनि बैंकिङ प्रणालीको निक्षेप बढ्दै गएको हो । गत आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीमा जोड गरेकाले पनि लगानीयोग्य रकम थपिदै गएको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ९ खर्ब ६२ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ ।
गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो नीतिमा घरजग्गा, शेयर बजार, कृषि, उद्योगलगायत क्षेत्रमा थप कर्जा विस्तारमा जोड दिएका छन् । लामो समयदेखिको न्यून ब्याजदर र ऋण दिन मिल्ने रकम (अधिक तरलता) बैंकहरूमा थुप्रिए पनि त्यसको लाभ सरकार र नागरिकले पाउन नसकेको भन्दै उदार नीति जारी भएको राष्ट्र बैंकको तर्क छ ।
तर कतिपय जानकारले निक्षेपकर्ताको हित संरक्षणमा बोल्न नसकेको र एकै पटक धेरै क्षेत्र खुकुलो बनाइएकाले वित्तीय स्थायित्व जोखिम बढ्न सक्ने विश्लेषण गरेका छन् । अहिले अर्थतन्त्रका बाह्य क्षेत्र बलिया रहेको, ब्याजदर निकै तल आइसकेकाले अब सरकारले लगानी विस्तारमा जोड दिनुपर्ने वित्तीय क्षेत्रका जानकारहरु बताउँछन ।
आर्थिकन्यूज