काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताको संख्या २३ लाख ७४ हजार भन्दा धेरै पुगेको छ । सामाजिक सुरक्षा कोषको वार्षिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ८२ हजार ९४६ ले वृद्धि भई कुल २३ लाख ७४ हजार ४८६ जना योगदानकर्ता कोषमा सुचीकृत पुगेको छ । कोषमा सुचीकृत हुने रोजगारदाताको संख्या २० लाख ९५१ पुगेको छ ।
सुचीकृत योगदानकर्तामध्ये औपचारिक तर्फ ६ लाख एक हजार ८२५, वैदेशिक क्षेत्र तर्फ १७ लाख ७१ हजार ५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक १ हजार १२४ सुचीकृत भएका छन् । आव २०८१/८२ मा थप २५ अर्व ३६ करोड योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन ८३ अर्व ६५ करोड पुगेको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरुको उपयोग गरे बापत भुक्तानी गर्दै आईरहेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्व १५ करोड रुपैयाँ भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड रुपैयाँ भुक्तानी भएको छ ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको कोषले जनाएको छ ।
यस्तै, आव २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबि भुक्तानी मार्फत ५ अर्व ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दाबि भुक्तानी मार्फत हालसम्म कुल १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको छ ।
योगदानकर्ता सापटी अन्तर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटि १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्व ४ करोड सापटी दिइएको छ ।
कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आव २०८१/८२ मा थप २४ वटा सहित कूल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ । वैदेशिक रोजगारी/स्वरोजगारीमा रहेका व्यक्तिहरूको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ ।
औपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भई यसै आर्थिक बर्षमा कार्यान्वयनमा आईसकेको कोषले जनाएको छ ।
आज भन्दा ५ वर्ष अगाडी योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ । औषधी उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाख सम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको कोषले जनाएको छ । अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको कोषले जनाएको छ ।
आर्थिकन्यूज