काठमाडौं । विश्वमा प्रविधिको विकाससँगै मिडियाको प्लेटफर्म पनि परिवर्तन हुँदै गएको छ । नेपालमा पनि त्यही नै भइरहको छ । नेपालमा प्रिन्ट मिडिया हुँदै अहिले सोसियल मिडियामा आइपुगेको छ । यो परिवर्तन प्रविधिको विकासले गरेको हो ।
प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन, अनलाईन मिडिया (बेव मिडिया) हुँदै अहिले सोसियल मिडियाको बाहुल्यता हुन थालेको छ । मिडियाको प्लेटफर्मसँगै यसको बजार पनि परिवर्तन हुँदै गएको छ । प्रिन्ट मिडिया, रेडियो र टेलिभिजनको बजार खस्कदै गएको छ भने बेव मिडिया र सोसियल मिडियाको बजार बढ्दै गएको छ ।
विशेषगरी कोरोना महामारी पछि प्रिन्ट र टेलिभिजनको व्यपार (विज्ञापन) ५० प्रतिशतले घटेको छ भने रेडियोको विज्ञापन ७० प्रतिशतले घटेको सरकारी तथ्यांक छ । यसैबीच नेपालको शहरमा बाक्लो उपस्थिति रहेको रेडियो अहिले नगन्य संख्यामा रहेका छन् । टेलिभिजन पनि विस्तारै बन्द हुँदै गएका छन् ।
बेव मिडियाको विकाससँगै विज्ञापन यही प्लेटफर्ममा बढ्दै गएपनि पछिल्लो समय सोसियल मिडियाले बजार वृद्धि गर्दै आएको छ ।विज्ञापन दाताले पनि विज्ञापनका लागि सोसियल मिडियाका कन्टेन क्रिएटरलाई खोज्न थालेका छन् ।
तर, यसरी विज्ञापन बापतको करोडौँ रुपैयाँ कारोबार हुँने सोसियल मिडिया नियमन बाहिर रहेको छ । उनीहरुले न कतै दर्ता गरेका छन् न त आम्दानीबाट राज्यलाई कर नै तिरेका छन् । सोसियल मिडियालाई व्यवस्थित गर्न के गर्नुपर्छ ? अबको विज्ञापनको बजारको भविश्य कता जाँदैछ ? विज्ञापनको उपयोगी माध्यम सोसियल मिडिया हो कि होइन ? लगायतका विषयमा रहेर आर्थिक न्यूजले विज्ञापन संघका अध्यक्ष सुदिप थापासँग कुराकानी गरेको छ । प्रस्तुत छ थापासँग गरिएको कुराकानीको सम्पादित अंश :
मिडियाको सम्पत्ति विज्ञापन होइन
मिडियाले विज्ञापन आफ्नो सम्पत्ति हो भन्ने ठान्दछ । तर, विज्ञापन मिडियाको सम्पत्ति होइन, मिडियाको सम्पत्ति भनेको उसको भिजिटर, रिडर, दर्शक तथा स्रोता हो । मिडियाको एक्चुअल भ्यालु नै उसको कन्जुमर हो । कतिले समचार पढे, कतिले हेरे तथा कतिले सुने भन्ने विषय नै मिडियाको मुख्य सम्पत्ति र भ्यालु हो ।
खासमा विज्ञापनदाताले मिडिया खोज्दै आउनु पर्ने हो । तर, पछिल्लो समय मिडियाले विज्ञापन खोज्दै हिडनु परेको छ । विज्ञापन भनेको मागेर पाइने विषय होइन् । आफ्नो मिडियाको भ्यालु बढाउनु प¥यो । अर्थात् मिडियाले भिजिटर, रिडर, दर्शक तथा स्रोता वृद्धि गर्नुप¥यो । त्यसो गर्दा विज्ञापनले तपाईलाई खोज्दै आउँछ ।
नेपालमा मिडियाको संख्या धेरै भयो
सरकारले कुनै विश्लेषण नै नगरी मिडिया जति पनि खोल्न दियो । यो गलत हो । अहिले एक व्यक्ति एक मिडिया भएको छ । विज्ञापन बजार कति हो ? भएको बजारले कतिवटा मिडियालाई धान्छ । बाँकी मिडिया कसरी धान्ने भन्ने विषयमा सरकारले सोच्दै सोचेन । अत्याधिक मिडिया भएपछि विज्ञापनका लागि दाताको टेबलमा मिडिया पुग्नु पर्ने स्थिति आइप¥यो । मिडिया र विज्ञापन एजेन्सीहरु दुवै अनप्रोफेशनल भए ।
मिडियाले आफ्नो कन्जुमरलाई कस्तो कन्टेन दिने भन्ने नै बिर्सियो । भने यता एजेन्सीहरु पनि कमिसनको खेलनमा नै रुमलिए । एजेन्सीहरुले मिडियाको भिजिटर, दर्शक, स्रोता तथा पाठकको संख्या के कति छ भन्ने नसोची आफ्नो स्वर्थ अनुरुपका मिडियालाई विज्ञापन दिन थाले ।
पोल्टिसियन र व्यवसायीले मिडियालाई दुरुपयोग गरे
राजनीतिक दल तथा राजनीतिज्ञले मिडियालाई वाचडगको रुपमा राख्नुपर्ने हो । आफुहरुले बनाएका नीति नियम कहाँ गलत भयो, नियम पालनामा कसले बदमासी ग¥यो भनेर मिडियालाई वाचडगको रुपमा छोडनु पर्दथ्यो ।
तर, यहाँ राजनैतिक दल, राजनीतिज्ञहरुले मिडियालाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ अनुरुपको बनाउँन लागि परे । जुन व्यवसायीहरुले पनि गर्न थाले । मिडियाले पनि आफ्नो पावरको दुरुपयोग गरेर व्यवसायीसँग रकम असुल्ने र व्यवसायीले पनि आफ्नो फेवरमा ल्याउन मिडियालाई रकम भुक्तानी गर्ने चलन बढ्यो ।
यसले गर्दा व्यवसायीले खर्च त गरे तर त्यो खर्चले ब्राण्ड विकास भयो कि भएन् ? भन्ने सोचेनन् । यसले गर्दा मिडियाको कन्टेन र व्यवसायीको ब्राण्ड खच्कियो ।
कन्जुम पिरियड सोसियल मिडियामा कम छ
सोसियल मिडियाको कन्जुम पिरियड कम छ । सोसियल मिडियाको कन्जुम पिरियड ३ सेकेन्डको हाराहारीमा छ । ३ सेकेन्डमा कन्जुम गरेर ब्राण्डको भ्यालु, ईमोसन महशुस हुँदैन । प्रिन्ट मिडियाको ५ मिनेट तथा टेलिभिजनको २ घन्टा छ । ब्राण्डको भ्यालु तथा ईमोशन वृद्धिका लागि सोसियल मिडियाको तुलनामा प्रिन्ट र टेलिभिजन नै वेस्ट हो ।
आर्थिकन्यूज