शीर्षकहरू

गभर्नर पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियारमा उजुरी, 'कानुन र प्रक्रिया मिचेर नियुक्ति गरियो'

गभर्नर पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियारमा उजुरी, 'कानुन र प्रक्रिया मिचेर नियुक्ति गरियो'

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध विषय विज्ञता नभएको व्यक्तिलाई कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरिएको भन्दै छानविनको माग गर्दै उजुरी परेको हो । 

राष्ट्रभक्त नेपालीको नामबाट साउन ४ मा नै अख्तियारमा उजुरी परेको हो । ००१२७६ मा दर्ता भएको उजुरीमा आवश्यक योग्यता नहुँदा नहुँदै पनि बलपूर्वक पौडेललाई गभर्नर बनाउने काम भएको दाबी गरिएको छ । साथै राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई गभर्नर बनाउनु पूर्णरुपमा अवैध भएको उजुरीकर्ताको भनाई छ ।

पौडेलले आफूलाई प्राध्यापक र डाक्टर लेख्ने गरे पनि सो उपाधिमा नै आशंका देखिन्छ भन्दै उजुरीकर्ताले काठमाडौं विश्वविद्यालयको कुन बैठक र निर्णयबाट उनी प्राध्यापक र डाक्टर भएका हुन ? सो समेत छानविन हुनुपर्ने माग गरेका छन् ।

'पछिल्लो समय गभर्नर पौडेलले आफूलाई प्राडा लेख्न थालेका छन् । उनको प्राडामा पनि शंका गर्ने धेरै ठाउँ छ । काठमाडौं विश्वविद्यालयले उनलाई कहिले प्राडाको उपाधि दियो यसमा छानविन हुनु पर्दछ ।' उजुरीमा उल्लेख छ । 

राष्ट्र बैंक ऐन, २०५८ ले दफा १५ को उपदफा २ को (क), (ख) र (ग) बमोजिम सरकारद्धारा गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानुन क्षेत्रमा स्नातकोत्तर व्यक्ति हुनुपर्ने उल्लेख छ । तर, पौडेलले ‘रिसोर्स एग्रिकल्चर’मा विद्यावारिधि गरेको भनिएको भन्दै उजुरीमा पौडेलले सफ्टवयर इन्जिनियरिङमा स्नातकोत्तर गरेकाले पनि गभर्नर बन्न योग्यता नपुग्ने जिकिर गरिएको छ । 

गभर्नर पौडेल बैंक, वित्तीय क्षेत्रमा मुख्य शेयर लगानीकर्ता रहेको भन्दै उजुरीकर्ताले नैतिक र कानुनी हिसाबले पनि उनी गभर्नर बन्न नमिल्ने जिकिर गरेका छन । पछिल्लो विवरणअनुसार गभर्नर पौडेलको २० करोडभन्दा ठूलो शेयरको पोर्टफोलियो देखिन्छ । पौडेलले चालु आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीतिमा शेयर बजारलाई कृतिमरुपमा बढाउन बढी जोड दिएको देखिन्छ । 

डा पौडेल गभर्नर सिफारिस समितिको सदस्यमा चयन भै १ महिना बढी व्यतित गर्ने व्यक्ति हुन । जो नेपाली कांग्रेस पार्टीले मलाई गभर्नर हुन जा भनेर दबाब दियो बाध्यताले मन नहुँदा नहुँदै पनि राजिनामा गरेर आए भनेर पटक-पटक भन्दै गरेको पनि उजुरीकर्ताको जिकिर छ ।

सामान्य जनमानसमा थाहा हुन आएका उपरोक्त तथ्यहरू बाहेक के कति र कस्तो अवस्थामा नेपाल सरकारबाट गठित समितिबाट गरिएको अख्तियारको दुरुपयोगको छानबिन गरी नियम कानून विपरित नियुक्ति गरिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई पदमुक्त गरियोस भन्दै उजुरीकर्ताले माग गरेका छन् ।

यसैगरी, योग्याता बिहिन व्यक्तिलाई गभर्नर जस्तो पदमा नियुक्ति दिने गभर्नर सिफारिस समितिका सदस्य, विष्णुप्रसाद पौडेल, छनौट समिति सदस्यहरु डा. पोषराज पाण्डे र महाप्रसाद अधिकारी र मुख्यसचिव एक नारायण अर्याललाई कारबाहि गर्न समेत माग गरेका छन् ।

nullnull