काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सलाई कारबाही गरेको जनाएको छ ।
केन्द्रीय बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । उनले राष्ट्र बैंकको निर्देशन विपरीत आफ्नो सुविधा वृद्धि गरेको केन्द्रीय बैंकले जनाएको छ । सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको पनि राष्ट्र बैंकले औल्याएको छ ।
त्यसैगरी सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि सिटिजन्स बैंक सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, यस बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
गत आवको चौथो त्रैमासमा एएनआईसी एसिया बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर-परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई दिएको नदेखिएपछि एनआईसी एसियालाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई पनि सचेत गराएको छ । केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज-किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्था विपरीत संस्थाले वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचन प्रक्रियामा नगएको र साधारणसभा सकिएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष तथा सदस्यलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी संस्था सञ्चालक समितिको अध्यक्ष रहेको अवधिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्था बमोजिम कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन स्वीकृति नगराइ कार्यान्वयनमा ल्याएपछि केन्द्रीय बैंकले संस्थाका अध्यक्षलाई सचेत गराएको जनाएको छ ।
त्यस्तै गत आव केन्द्रीय बैंकले पोखरा फाइनान्सलाइ अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै आर्थिक जरिबाना गरेको छ । पोखरा फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेपछि ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिबाना गरेको हो ।
आर्थिकन्यूज