तानसेन (पाल्पा) । पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो । उनका अनुसार ‘नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०’ लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो ।
“सम्बन्धित वडाको सिफारिस सहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो”, प्रजिअ सुवेदीले बताए ।
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेक सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए । उनले भने, “गैरआवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरूका आफन्त कार्यालयमा आउने गर्नुभएको छ ।”
प्रजिअ सुवेदीका अनुसार यो नागरिकता लिन वडाको सिफारिस लिई अनुसूचीमा उल्लेखित फाराम भरी प्रमुख जिल्ला अधिकारीबाट शपथग्रहण गर्नुपर्ने व्यवस्था छ । “नेपाली नागरिकता त्याग गर्नुपर्छ । तोकिएको ढाँचामा फाराम भरेपछि गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ । अरूको नागरिकताको किसिममा वंशज हुन्छ भने एनआरएनएको हकमा गैरआवासीय नेपाली लेखिन्छ”, उनले भने । नागरिकता सार्क मुलुकबाहेकका गैरआवासीय नेपालीले पाउँदै आएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट एक आर्थिक वर्षमा १८ हजार नौ सय ६२ वटा वंशजका आधारमा नागरिकता जारी भएका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । उनले यी दुई कार्यालयबाट छ हजार ९९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएका जनाउँदै जिल्ला प्रशासनबाट १७ जनाले नागरिकता त्याग गरेका र १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता लिएका उल्लेख गरे ।
झापामा ६२ जनाले त्यागे नेपाली नागरिकता
झापामा पछिल्लो एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता परित्याग गरी गैरआवासीय नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए ।
उनका अनुसार सोही अवधिमा कार्यालयले वंशजका आधारमा २२ हजार ४० र वैवाहिक अङ्गीकृत छ सय ७५ वटा नागरिकता वितरण गरेको छ । साथै कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका उनले बताए ।
गत आवमा २२ हजार ४३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सात सय ८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको जनाउँदै सूचना अधिकारी प्रसाईंले सोही अवधिमा पारिवारिक पेन्सन, शपथपत्र र हलपहलसम्बन्धी सिफारिस दुई सय ६२ वटा, संस्था दर्ता ७८ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयपत्र वितरण भएको छ । कार्यालयले विपद् पीडित १९ जना (पाँच जना मृतकसहित) लाई एक करोड १९ लाख ९० हजार राहत वितरण गरेको छ भने एक सय नौ वटा हतियार नवीकरण गरेको छ ।
आर्थिकन्यूज