काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा झण्डै एक दर्जन वाणिज्य बैंकलाई कारवाही गरेको छ । नियामकीय निर्देशन परिपालना नगरेपछि गएको एक वर्षमा ५० प्रतिशत बढी वाणिज्य बैंकहरु राष्ट्र बैंकको कारवाहीमा परेका हुन । यो अवधिमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत कारवाही गरेको छ ।
केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको कारवाहीमा पर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्शियल बैंक, हिमालयन बैंक, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, स्ट्याण्र्डड चार्टड बैंक र सिटिजन्स बैंक इन्टरनेशनल बैंक रहेका छन् । यीमध्ये प्रभु, हिमालयन र एनआईसी एशिया बैंक वर्षदिनमा दुई पटक कारवाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको सुपरिवेक्षण विभागका अनुसार गएको वर्षमा बैंकहरुमा मात्र नभई कतिपय बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत कारवाही गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले का अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दैं नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सचेत गराइएकोे थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसोरी नोट जारी गरी बेनिफिकरीबाट बैंकले कुल ४१ करोड ३६ करोड बराबरको बिल्स पर्चेज गरी कर्जा सापटमा देखाएको छ । सो प्रतितपत्रको म्याचुअरिटी डेट बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रूपमा देखाई यस बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको पाइएको छ ।
प्रभु बैंक
लकर रोक्का राख्न राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेको भन्दै प्रभु बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । प्रभु बैंक गत आवको दोस्रो त्रैमासमा पनि कारवाहीमा परेको थियो । प्रभु बैंकले सञ्चालक नियुक्त गर्ने क्रममा राष्ट्र बैंकको निर्देशन परिपालना नगरेपछि सञ्चालक समितिलाई सचेत गराएको थियो । राष्ट्र बैंकले उक्त सञ्चालकलाई पदबाट हटाउन बैंक सञ्चालक समितिलाई निर्देशन दिएको हो ।
प्रभु बैंकले कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था नगरेका, पुँजी पर्याप्तता अनुपात गणना गर्दा क्यापिटल एडुक्वेसी फ्रेमवरणक २०१५ अनुसार प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको पाइएको थियो । केही कर्जामा उक्त फ्रेमवर्कअनुसार जोखिम भार प्रदान नगरि वास्तविक जोखिम भार गणना नगरेकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो ।
एनआईसी एशिया
एनआईसी एशिया बैंकले सञ्चालकका परिवारका सदस्यलाई प्रकाशित भन्दा बढी ब्याजदर दिएकोले प्रमुख कार्यकारी अधिकृत र सञ्चालन समितिका सदस्यलाई आगामी दिनमा यस्तो कार्य नगर्न नसियत दिएको थियो।
‘एनआईसी एशिया बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएको थियो । केन्द्रीय बैंकले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई नसिहत दिएको थियो ।
यस्तै बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा ब्याजदरसम्बन्धी जोखिमभारसम्बन्धी निर्देशन र संस्थागत सुशासनसम्बन्धी निर्देशनको पालना नभएको पाईएको थियो ।
गत आवको चौथो त्रैमासमा एएनआईसी एशिया बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर-परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई दिएको नदेखिएपछि एनआईसी एशियालाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकलाई पनि दोस्रो त्रैमासमा सचेत गराएको छ । एकीकृत निर्देशनको व्यवस्था अनुसार कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको पाइएको छ । यसबारे प्रचलित कानुन र यस बैकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
कुमारी बैंक
यस्तै, कुमारी बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेका पाइएको छ । यस बैंकले प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको समेत पाइएको छ ।
कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकोले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई उक्त रकम ३५ दिनभित्र असुल उपर गर्न राष्ट्र बैंकले निर्देशन दिएकोमा सो रकम असुलउपर भएको छ ।
लक्ष्मी सनराइज बैंक
पहिलो त्रैमासमा पनि कारबाहीमा परेको लक्ष्मी सनराइज बैंक लिमिटेड तेस्रो त्रैमासमा पनि कारबाहीमा परेको छ । यस बैंकको (साविक लक्ष्मी बैंक लिमिटेड) को १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई १२ करोड रुपैयाँ कर्जा प्रदान गरेको थियो । उक्त कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी उपयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी भएकोले खेतानलाई १० लाख जरिवाना गरिएको छ । लक्ष्मी बैंकबाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल
केन्द्रीय बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । उनले राष्ट्र बैंकको निर्देशन विपरीत आफ्नो सुविधा वृद्धि गरेको केन्द्रीय बैंकले जनाएको छ । सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको पनि राष्ट्र बैंकले औल्याएको छ ।
त्यसैगरी सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि सिटिजन्स बैंक सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, यस बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै कारवाही गरको थियो ।
केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको थियो ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेड र त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत बीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेकोे, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न-गराउन नसकेको देखिएकोले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो ।
नेपाल बैंकका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रही आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा हुने गरी कर्जाको किस्ता कायम गरेको आधारमा कारवाही गरिएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई भने आर्थिक बर्ष २०८१-८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्त– सम्मको अवधिमा उक्त बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको आधारमा १४ करोड ८५ लाख २५ हजार ५ सय रुपैंयाँ जरिवाना तिराईएको थियो ।
आर्थिकन्यूज