काठमाडौं । खरबौं डलरको सम्पत्ति व्यवस्थापन गर्ने ब्ल्याक रक विश्वकै सबैभन्दा ठूलो लगानी कम्पनीको रुपमा चिनिन्छ। वातावरणीय, सामाजिक र शासन (इएसजी ) सम्बन्धी सिद्धान्तहरूको वकालत गर्ने यस कम्पनी आफूलाई एक जिम्मेवार वैश्विक लगानीकर्ता भन्न रुँचाउछ ।
हालैको तथ्यांकअनुसार, यस कम्पनीले १० ट्रिलियन डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गरिरहेको छ जुन आँकडाले यसको व्यापक वित्तीय प्रभावलाई स्पष्ट पार्छ। तर यसको यस्तो "सानदार" सार्वजनिक छविको पछाडि आलोचना र विवादहरूको एउटा जटिल जाल लुकेको छ। यो जालले यसको वास्तविक प्रभाव र नियतमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको पाइन्छ ।
वास्तवमा भन्ने हो भने ब्ल्याक रकले वातावरणवादी, मानव अधिकारकर्मी, तथा राजनीतिक क्षेत्रबाट तीव्र आलोचना खेप्दै आएको छ।
"ग्रीन वाशिङ" को शंका
ब्ल्याक रकमाथि लगाइने प्रमुख आरोपहरूमध्ये एक हो—"ग्रीन वाशिङ"। सीईओ ल्यारी फिन्कले आफ्नो कम्पनीलाई जलवायु जोखिमको समाधान र वातवरणीय दिगोपनको पक्षपाती रुपमा प्रस्तुत गरेपनि उनको व्यवहार र अभिव्यक्तिमा मेल छैन।
सन् २०२२ को एक प्रतिवेदन अनुसार ब्ल्याक रक कोइला, तेल, र ग्यास जस्ता जीवाश्म इन्धनमा विश्वकै ठूला लगानीकर्ता हो। यस्तो बेमेललाई वातावरणविद " ग्रीन वाशिङ" को संज्ञा दिन्छन। यो शब्दले कुनै पनि कम्पनीले वातावरणप्रति जिम्मेवार भएको झुटो छवि सिर्जना गर्न वातावरणीय फाइदाहरूलाई गलत वा भ्रामक तरिकाले प्रस्तुत गर्ने अभ्यासलाई जनाउँछ ।
"ब्ल्याक रकको ठूलो समस्या" जस्ता अभियानहरूले वन विनाश तथा आदिवासी समुदायमाथिको असर पार्ने कम्पनीहरूमा यसले लगानी गरिरहेको औँल्याउँछन्- जसले यसको "कम-कार्बन भविष्य" प्रतिवद्धता केवल प्रचारको माध्यम बनेको आशंका जन्माउँछ।
यस्तै , विभिन्न अमेरिकी राज्य र "कन्जरभेटिभ" समूहहरू यसको इएसजी रणनीतिलाई एक धुर्त राजनीतिक एजेन्डा ठान्छन्। यो एजेन्डा मार्फत कम्पनीले न्यासी जिम्मेवारी नजरअन्दाज गर्दै केवल यसका ग्राहकको आर्थिक फाइदा बढाइरहेको छ।
टेक्सास र लुइसियाना लगायत केही राज्यले ब्ल्याक रकबाट राज्य कोष फिर्ता लिने निर्णय गरिसकेका छन्। लुइसियानाका राज्य कोषाध्यक्ष जोन एम. स्रोडरले सन् २०२२ को अक्टोबर मा $७९४ मिलियन फिर्ता लिँदै कम्पनीले "जीवाश्म इन्धन विरोधी नीति" अपनाएको आरोप लगाए। यस्तो नीतिले स्थानीय अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने र उर्जा बजारमा अवैध चलखेल सिर्जना गर्ने दाबी गरिन्छ।
अपूर्व प्रभाव र वित्तीय शक्ति
ब्ल्याक रकको विशाल वित्तीय आकारको कारणले यसको अन्तर्राष्ट्रिय कर्पोरेसनहरुमा रजगज छ । यसले निम्न जस्ता चिन्ताहरू उब्जाएको छ:
साझा स्वामित्व: प्रतिस्पर्धी कम्पनीहरूमा समेत ब्ल्याक रकको समान हिस्सेदारीले बजार प्रतिस्पर्धामा बाधा पुर्याउने, स्वार्थको द्वन्द सिर्जना गर्ने र अन्तत : उपभोक्ता मारमा पर्ने जोखिम निम्त्याउँछ।
सरकारसँगको सम्बन्ध: ब्ल्याक रक मुख्यतया अमेरिकी सरकारसँगको घनिष्ट सम्बन्ध शंकाको घेरामा छ। सन् २००८ को वित्तीय संकट र सन् २०२० को कोभिड-१९ महामारीका बेला अमेरिकी सरकारले कुनै प्रतिस्पर्धा विना ब्ल्याक रकलाई संकटग्रस्त कम्पनीहरुको सम्पत्ति व्यवस्थापन गर्ने चुनेको थियो। त्यस्तै , सन् २०१९ मा प्रकाशित "ब्ल्याक रकको वाशिङ्टन प्लेबुक" शीर्षकको प्रतिवेदनले कम्पनीको बढ्दो राजनीतिक पहुँचबारे सतर्क गराएको पाइन्छ।
"छाँया सरकार ” को संज्ञा : ब्ल्याक रकलाई कतिपय आलोचकहरूले "छाँया सरकार“ वा "अमेरिकी राज्यको अघोषित चौथो अंग” भनेर व्याख्या गरेका छन्। यो व्याख्यालाई ब्ल्याक रकका पक्षधरहरुले अतिरञ्जित र अनर्गल प्रचार भनेता पनि यसले केवल एकल कम्पनीको हातमा असीमित शक्ति केन्द्रित भएको तर्फ इंगित गर्दछ।
ब्ल्याक रकका केही विवादास्पद लगानी
यस कम्पनीको नागरिकस्तरका हातहतियार तथा सैनिक प्रयोजनका शस्त्र निर्माण गर्ने थुप्रै कम्पनीहरूमा ठूलो लगानी रहेको छ। यस्तो लगानीको आकार ३८ अर्ब अमेरिकन डलर भएको अनुमान गरिन्छ ।
ब्ल्याक रकले स्मिथ एण्ड वेसन र स्टर्म, रुगर एण्ड कम्पनी जस्ता अमेरिकी हातहतियार उत्पादक कम्पनीहरूमा धनराशी खर्च गरेको छ , जसले अर्धस्वचालित राइफल तथा पेस्तोल उत्पादन गर्छन्। यी हतियारहरू अमेरिका भित्र भएका थुप्रै सामूहिक गोलीकाण्डहरूमा प्रयोग भएको पाइन्छ।
सैनिक हातहतियारको क्षेत्रमा ब्ल्याक रकले लकहिड मार्टिन, रेथियोन टेक्नोलोजिज, र नर्थरोप ग्रुमन जस्ता कम्पनीहरूमा लगानी गरेको छ, जसले युद्धक विमान, क्षेप्यास्त्र प्रणाली र अन्य घातक अस्त्रहरू निर्माण गर्छन्।
यी अस्त्रहरू केही विवादास्पद सरकार तथा सैन्य समूहहरूलाई आपूर्ति गरिँदै आएको इतिहास छ। उदाहरणस्वरूप, लकहिड मार्टिनले निर्माण गरेका क्षेप्यास्त्रहरू साउदी नेतृत्वमा यमनमा गरिएको हवाई आक्रमणमा प्रयोग भएका थिए, जसले हजारौँ निर्दोष नागरिकको ज्यान लिई गम्भीर मानवीय संकट उत्पन्न गरायो।
यसैगरी, ब्ल्याक रकले इजरायलको राष्ट्रिय रक्षा सम्बन्धि ठेकदार कम्पनी , सरकारी ऋणपत्र इत्यादीमा निरन्तर रुपमा ठूलो लगानी गरेको छ। मानवअधिकार समूह, सामाजिक अभियन्ता गठबन्धन र सामाजिक रुपमा जिम्मेवार लगानीका समर्थकहरूको अनुसार यस्तो लगानीले इजरायललाई प्यालेस्टाइन माथि क्रुर दमन हर्न अप्रत्यक्ष सहयोग पुर्याएको छ।
ब्ल्याक रकको पैसाको बलमा इजरयाली सरकार प्यालेस्टिनी भूमि (गाजा)लाई पाशविक सैनिक कारवाही मार्फत कब्जा गरी त्यहाँका निर्दोष नागरिकको जीवनलाई नारकीय बनाउन उद्दत देखिन्छ।
निष्कर्ष
ब्ल्याक रकले आफूलाई सामाजिक उत्तरदायित्व र नैतिक लगानीको वकालत गर्छ, तर यसको कार्यनीति, लगानी प्राथमिकता, आदीले विपरितलाई जनाउँछ। उच्च राजनीतिक पहुँच मार्फत विश्वमा आफ्नो वित्तीय साम्राज्य खडा गर्ने यसको नियत देखिन्छ। यो अभिष्ट पूरा गर्न यसले विभिन्न बहाना (जस्तै ग्रीन वाशिंग, हातहतियारमा लगानी,इत्यादी ) अपनाएको प्रष्ट छ।
आर्थिकन्यूज