काठमाडौं । गत आर्थिक वर्षमा भएको शेयर कारोबारको आधारमा विशाल बजार कम्पनी नेप्सेमा सूचीकृतमध्ये सबैभन्दा ठूलो कम्पनी हुन पुगेको छ । विशाल बजारको कुल बजार पुँजीकरण २ खर्ब १५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सरकारको स्वामित्वमा ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक शेयर सूचीकृत भएपछि यो कम्पनी एकाएक नेप्सेको सबैभन्दा ठूलो कम्पनी भएको हो । यो कम्पनीमा सरकारको ९८.९६ प्रतिशत तथा सर्वसाधरणको १.०४ प्रतिशत शेयर हिस्सा रहेको छ । यो कम्पनीको नेप्सेमा ४ करोड १ लाख कित्ता शेयर सूचीकृत रहेको छ । हाल कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५ हजार ५३२ रुपैयाँ छ । कम्पनीको पछिल्लो कारोबारको शेयर मूल्यलाई आधार मान्दा यसको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।
बजार पुँजीकरणले सूचीकृत कम्पनीको आकार मापन गर्छ । नेप्सेमा सूचीकृत रहेको कुनै पनि कम्पनीको कुल बजार पुँजीकरण बढ्न सो कम्पनीको शेयर संख्या वा मूल्य बढ्नुपर्छ । सूचीकृत कम्पनीको शेयर संख्यालाई हालको कारोबार मूल्यले गुणन गरेर कुल बजार पुँजीकरण निकालिन्छ । यसैले कम्पनीको शेयर मूल्य बढ्दा वा शेयर संख्या थपिँदा बजार पुँजीकरण बढ्ने गर्छ ।
नेप्सेले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा उच्च बजार पुँजीकरण हुने कम्पनीको दोस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको १ खर्ब ६९ अर्ब १३ करोड बजार पुँजीकरण रहेको छ । त्यस्तै तेस्रोमा रहेको नेपाल दुरसञ्चार कम्पनीको १ खर्ब ५७ अर्ब ९० करोड, चौथोमा रहेको नबिल बैंकको १ खर्ब ४६ अर्ब ४७ करोड रहेको छ।
यस्तै, सिजिटन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब २८ अर्ब ६ करोड, हिमालयन रि इन्स्योरेन्सको १ खर्ब २८ करोड, ग्लोबल आईएमई बैंकको ९८ अर्ब ९३ करोड, एभरेष्ट बैंकको ९० अर्ब ८१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७८ अर्ब ८४ करोड तथा एचआईडिसिएलको ७१ अर्ब ८६ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण भएको छ । यो गत आर्थिक वर्षको अन्त्यसम्मको तथ्यांक हो । पछिल्लो समयमा शेयर बजारमा निरन्तर सुधार भइरहेको छ । साउन लागेपछि नेप्से निरन्तर उकालो लागेको छ । यसबिचमा यी कम्पनीहरुको शेयर भाउ समेत उकालो लागेकाले बजार पुँजीकरण अझै बढेको छ । गत विहीबारको तथ्यांक हेर्दा नेप्सेको समग्र बजार पुँजीकरण पौने ५० खर्ब रुपैयाँ पुगेको छ ।
पुँजीकरण गणना नै अवैज्ञानिक
कुनै कम्पनीको नेप्सेमा सूचीकृत कुल शेयर रकमलाई प्रतिकित्ता शेयर कारोबार मूल्यको गुणन गर्दा प्राप्त हुने रकम नै बजार पुँजीकरण हो । उच्च बजार पुँजीकरण भएका कम्पनीहरुको कारोबारले नेप्से सूचकांकमा समेत फेरबदल ल्याउन सक्छ । परिसूचक घटबढमा ठूलो पुँजीकरण भएका कम्पनीहरुको भार ठूलै हुने गरेको छ।
यस्ता कम्पनीहरुको मूल्य बढ्दा थोरै कित्ता कारोबारले पनि नेप्से बढ्ने र मूल्य घट्दा नेप्से घट्ने हुनेगर्छ । विशाल बजार, नेपाल रिइन्स्योरेन्स, नेपाल टेलिकम, नबिल बैंक, नागरिक लगानी कोष, हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनीको शेयर मूल्यमा हुने परिवर्तनले नेप्से सूचकमा प्रभाव पार्ने गर्छ।
बजार पुँजीकरण मापन गर्दा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सबै कम्पनीको शेयर मूल्य समावेश गरिन्छ । नेप्सेमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई समग्र बजार पुँजीकरण भनिन्छ । अहिले नेप्सेमा ३६४ कम्पनी सूचीकृत रहेका छन् । गत विहीबारको कारोबारलाई आधार मान्दा अहिले नेप्सेको समग्र बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब ४ करोड ८६ लाख ९७ हजार रुपैयाँ रहेको छ।
कम्पनीको बजार पुँजीकरण आकारका आधारमा लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका विभिन्न श्रेणीका कम्पनीहरु छनौट गर्न सक्छन् । तर, कम्पनीको बजार पुँजीकरणले कम्पनीको वित्तीय अवस्था, लगानीको प्रतिफल, शेयर मूल्य र भविष्यलाई प्रतिबिम्बित गर्दैन । त्यसका लागि कम्पनीका अन्य वित्तीय सूचकहरू ख्याल गर्नुपर्ने हुन्छ । बजार पुँजीकरणका आधारमा ठूला कम्पनीको सामान्यतया शेयर संख्या धेरै हुने भएकाले उच्च दरमा लाभांश वितरण गर्न धेरै आम्दानी र धेरै नाफा कमाउनु पर्ने हुन्छ।
यता शेयर बजारका विश्लेषक तथा जानकारहरुले बजारमा आएको सीमित शेयरका आधारमा सूचीकृत सबै शेयरको मूल्य निर्धारण गरेर त्यसकै आधारमा नेप्से गणना गर्नु उचित नहुने बताउँछन्। कुनै कम्पनीको १० कित्ता शेयर मात्र किनबेच भएमा पनि यसैका आधारमा बजार पुँजीकरण गणना हुने हुँदा नेप्से परिसूचक र पुँजीकरणका पछाडि लाग्न नहुने शेयर बजारका अनुभवी लगानीकर्ताहरुको बुझाई छ । नेप्सेको अंकभन्दा पनि कम्पनीको वित्तीय स्थिति राम्ररी केलाएर मात्रै लगानी गर्नुपर्ने उनीहरुको धारणा छ।
नेप्सेमा संस्थापक र साधारण गरी दुई किसिमका शेयरको कारोबार हुने र यीनीहरुको मूल्य समेत फरक हुने भएकाले शेयर बजारको कुल पुँजीकरण गणना विधि नै अवैज्ञानिक रहेको तर्क उनीहरुको छ । बजारमा सबैजसो कम्पनीको साधारणभन्दा संस्थापक समूहको शेयर मूल्य सस्तो छ । तर कुल पुँजीकरण गणनामा ती दुवै प्रकारको शेयरलाई साधारण मूल्यसँग गणना गरिने हुँदा पनि यो यर्थापरक हुन नसकेको उनीहरुको भनाई छ।
गत आर्थिक वर्ष २०८१-८२ मा धितोपत्र बजारमा २१ खर्ब २४ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ । सो अवधिमा ४ अर्ब ८४ करोड ४८ लाख ७६ हजार कित्ता शेयर बजारमा किनबेच हुँदा कूल २१ खर्ब २४ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार (र्टनओभर) भएको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष १८९.२३ प्रतिशतले शेयर कारोबार बढेको नेप्सेले जनाएको छ ।
आर्थिकन्यूज