काठमाडौं । थापाथली स्थित सुजुकी, महेन्द्र, विकार र के एम मोटर्स लगायतका नौ कम्पनीलाई श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सचेत गराएको छ । अनुगमनका क्रममा कम्पनीहरूले श्रम ऐन अनुसार श्रमिकहरूलाई सेवा सुविधा नदिएको पाइएपछि विभागले सचेत गराएको हो ।
विभागले १३ वटा कम्पनीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीन कम्पनीहरुमा सामाजिक सुरक्षा कार्यान्वयन नभएको, न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको र श्रमिकले अन्य सेवा सुविधा पनि नपाएको पाइएपछि विभागले आईटी कम्पनी एक्सेस वर्ड, माई क्यारियर एजुकेशन कन्सल्टेन्सी, भर्सरओ, एभरेष्ट होटल र बुटवल हाइड्रोपावर कम्पनीलाई पनि सचेत गराएको हो । अनुगमन पछि विभागले जतिसक्दो छिटो ऐन बमोजिम श्रमिक सेवा सुविधाको व्यवस्था गर्न निर्देशन दिएको विभागका प्रवक्ता मणिनाथ गोपले बताए ।
गोपका अनुसार आईटी कम्पनी एक्सेस वर्ड, माई क्यारियर एजुकेशन कन्सल्टेन्सी र भर्सरओले कर्मचारी माथि गरेको श्रम शोषणको विषयमा हेल्लो सरकारमा उजुरी परेको थियो । उजुरीको आधारमा विभागले अनुगमन गरेको उनले बताए ।
विभागका अनुसार श्रम तथा रोजगारको समग्र क्षेत्रमा सकारात्मक प्रभाव स्थापित गर्ने उद्देश्यका साथ सबै श्रम तथा रोजगार कार्यालयहरु र विभागबाट अनुगमन गर्न टोली खटिई निरीक्षण गरी रहेको छ । विभागले गरेको अनुगमनमा सहयोग गर्न कम्पनीहरुलाई आग्रह गरेको छ । श्रमसम्बन्धी कानूनमा भएका व्यवस्थाहरुको कार्यान्वय र परिपालना भएको नपाईएमा कानून अनुसार कारवाही हुने समेत विभागले जनाएको छ । विभागले न्यूनतम पारिश्रमिक श्रम अडिटमा भएका सूचकहरुको कार्यान्वयन, योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आवद्धता, श्रमिक आपूर्तिकर्ताको ईजाजत, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीतिको परिपालना र बालश्रमको अवस्थाका बारेमा निरीक्षण गरि रहेको छ ।
आर्थिकन्यूज