आर्थिक न्युज विश्लेषण
काठमाडौं । विगत लामो समयदेखि २६ देखि २७ सय अंक वरिपरि घुमिरहेको शेयर बजार पछिल्लो एक महिनामा लगातार जस्तो बढीरहेको छ । गत असार ११ देखि साउन ११ अघिसम्मको अवधिमा भएको २२ दिनको कारोबारमा शेयर बजार ५ दिन बाहेक १७ दिन बढेको छ । यसबिचमा नेप्से सूचक ३८२.४४ अंकले उकालो लागेको छ ।
गत असार ११ गते बुधबार २६००.२० अंकमा बन्द भएको शेयर बजार गत विहीबारसम्म आइपुग्दा २९८२.६४ अंकमा पुगेर बन्द भएको छ । एक महिनाको अवधिमा नेप्से सूचक ३८२.४४ अंकले बढेको छ । एक महिना अगाडि दैनिक ५ देखि ६ अर्बको कारोबार हुँदै आएको बजारमा गत सातादेखि दैनिक १८ देखि २१ अर्बसम्मको कारोबार भएको छ । गत साताभर नेप्से परिसूचक ११२ अंकले बढेको छ । साताभर बजारमा झण्डै एक खर्ब बराबरको शेयर किनबेच भएको छ ।
शेयर बजार परिसूचक लगातार जस्तो बढीरहेको छ । साथै कारोबार रकम पनि निरन्तर बढेको देखिन्छ । कारोबार सँगसँगै शेयर बजार लगातार बढीरहेकाले नेप्से ‘बुल ट्रेन्ड’ मा प्रवेश गरेको समेत विश्लेषण गर्न थालिएको छ । बजारले यसअघिको २८ सय अंकको मनोवैज्ञानिक विन्दु पार गरेकाले अब नयाँ उचाई लिने अड्कलबाजीहरु समेत हुन थालेका छन् । बजार कुन उचाईमा पुग्ला भन्ने कौतुहलता र जिज्ञाशा लगानीकर्ताहरुले गर्न थालेका छन् भने बजारका जानकार र अनुभवीहरु भनेर चिनिएका केही व्यत्तित्वहरुले विभिन्न मिडियामा पुगेर आफ्ना अड्कलबाजीहरु प्रक्षेपण गर्न थालेका छन् । धेरैजसोले यस पटक बजारले छिट्टै नै नयाँ उचाई छुने दाबी समेत गरेका छन् ।
शेयर बजार लगानीकर्ताको मनोबल, आशा, अपेक्षा र विश्वासको जगमा चल्ने गरेको छ । २८ सय अंकको मनोवैज्ञानिक विन्दु पार गर्दै झण्डै ३ हजार अंक नजिक नेप्से सूचक पुगेपछि लगानीकर्ताहरुको मनोबल झनै उकासिएको देखिन्छ । गएको साता भएको शेयर कारोबारले पनि यसलाई पुष्टि गर्छ । गत साताको ५ कारोबार दिनमा मात्रै झण्डै एक खर्बको कारोबार भएको छ । यसले पनि बजार ‘बुल ट्रेन्ड’ मा प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय शेयर बजारसँग सम्बन्धित नीतिहरु सहज बनाएसँगै बजारले बढ्दो गतिलाई निरन्तरता दिएको हो । पछिल्लो समयमा शेयर बजार उकालो लाग्नुको मुख्य कारण चालु आर्थिक वर्षको मौद्रिक नीति नै रहेको छ । मौद्रिक नीतिले शेयर बजारमा लगानीका लागि थप खुकुलो नीति लिएकाले यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ । अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त तरलता रहेको अन्य क्षेत्रमा अपेक्षित रुपमा लगानी विस्तार हुन नसकेको र कर्जाको ब्याजदर समेत न्युन रहेकोले शेयर बजारतर्फ लगानीकर्ताको आर्कषण बढेको देखिन्छ।
अहिलेको बजार बढ्नु पर्ने प्रशस्तै कारणहरु रहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा रहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार शेयर कर्जा लगायत सबैजसो कर्जाको ब्याजदर ८ प्रतिशत तल छ । राष्ट्र बैंकले अझै ब्याजदर घटाउने गरी ब्याजदर करिडोर हेरफेर गरेको छ।
मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । निक्षेप संकलनको तल्लो सीमा २.७५ प्रतिशत रहेकाले यसले निक्षेपको साथसाथै कर्जाको समेत थप ब्याज घटाउने विश्लेषण गरिएको छ । ब्याजदर सस्तो हुँदा शेयर बजारमा लगानी बढ्ने विश्वास रहेको पाइन्छ ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकम प्रशस्तै छ । वित्तीय प्रणालीमा साढे ९ खर्ब भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सिडि रेसियो तल्लो विन्दुमा छ । अहिले यस्तो रेसियो ७५ प्रतिशतमा नै झरिसकेको छ । कर्जा लिएर शेयर कारोबार गर्नेहरुको लागि पनि सस्तो दरमा कर्जा पाएका छन् । मुद्दतीको ब्याजबाट सन्तुष्ट हुनेहरुलाई पनि घट्दो ब्याजदरले शेयर बजारले आकर्षित गरेको छ ।
साथै केन्द्रीय बैंकले सहजिकरण गर्दै आएको छ । विगतमा बजारलाई अप्ठ्यारो पारेको नीतिहरुमा परिवर्तन भएको छ । शेयर कर्जाको जोखिम भार १०० मा झरेको छ । धितो कर्जाको सीमा १५ बाट २५ करोड पुर्याएको छ । भर्खरै मात्र नयाँ आर्थिक वर्षको सुरुवात भएको र राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका व्यवस्थाहरु कार्यन्वयनको चरणमा रहेकाले नतिजा देखिन अझै समय लाग्ने देखिन्छ ।
तर, शेयर धितो कर्जाको सीमा बढ्नु मात्रै शेयर बजार परिसूचक बढ्ने महत्त्वपूर्ण आधार भने होइन । यद्यपि, यसले ठुला लगानीकर्तालाई आवश्यकताअनुसारको रकम जोहो गरेर बजारमा लगानी गर्न भने सहजीकरण गर्छ । यस्तै, लघुवित्तलाई पनि सहजिकरण गरेको छ । लघुवित्तलाई लाभांश वितरणमा लगाइएको क्याप हटेको छ । लघुवित्तले आफ्नो नाफाको १५ प्रतिशत भन्दा बढी प्रतिफल बाँड्न नपाउने व्यवस्था यसअघिको मौद्रिक नीतिमा उल्लेख थियो । नयाँ मौद्रिक नीतिमार्फत उक्त व्यवस्था पुनरावलोकन भएको छ ।
बैंक तथा वित्तीय संस्था लोनलस प्रोभिजन लगायतका व्यवस्थाले वित्तीय समस्याहरु सुधारात्मक रहेका छन् । समग्रमा भन्नु पर्दा खुकुलो मौद्रिक नीतिकै कारणले आर्थिक गतिबिधिहरु चलायमान हुने भएको छ । गतवर्ष प्रतिफल वितरण गर्न नसकेका कम्पनीले यस वर्ष सक्षम भएका छन् । त्यसैले दोस्रो बजार उत्साहित भएको र यो सुरुवाती चरणमा रहेको जानकारहरुको बुझाई छ ।
अर्थतन्त्रको बाह्य पक्षको अवस्था राम्रो नै छ । रेमिट्यान्स, बैदेशिक मुद्राको सञ्चीति, शोधानान्तर बचत लगायत सुचकहरु निरन्तर सकारात्मक छन् । आर्थिक सुधार र अर्थतन्त्रको गतिशिलता हुँदा शेयर बजारमा साँच्चिकै दिगो रुपमा रौनक छाउने छ । लगानीकर्ताहरुमा विश्वास बढ्नेछ् ।
अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरण हिस्सा ५२ प्रतिशत रहेको छ । यसैले गर्दा पनि राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाप्रति पनि लचक रहेको छ । विशेष गरी कर्जा प्रवाह विस्तार हुने खालको नीति आएको छ । जसले बैंक तथा वित्तीय संस्थाको आम्दानी बढ्ने देखिन्छ । राष्ट्र बैंकले ल्याएको नीति हेर्दा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्ने निश्चित छ । कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थाको आम्दानी पनि बढ्ने र नाफा पनि बढ्न सक्छ । त्यसको असर शेयर बजारमा पनि देखिनेछ ।
साथै राष्ट्र बैंकले मौद्रिक नीति अगावै पनि लघुवित्त कम्पनीहरुमा बेस रेट र बैंकहरुको असल कर्जामा प्रोभिजन दर घटाएको थियो । जसले बैंक तथा वित्तिय संस्थाहरुको नाफा बढाउन सहयोग पुग्ने भएकोले पनि बजार बढेको देखिन्छ । राष्ट्र बैंकले लिएको नीतिले शेयरबजार मात्र नभएर पूरै अर्थतन्त्र नै सुधार हुने अपेक्षा गरिएको छ ।

आर्थिकन्यूज