शीर्षकहरू

मधेसमा  कोइराला पक्षधरको  भेला सम्पन्न, १५ औं महाधिवेशनका लागि रणनीति तयार

मधेसमा  कोइराला पक्षधरको  भेला सम्पन्न, १५ औं महाधिवेशनका लागि रणनीति तयार

वीरगन्ज । शेरबहादुर देउवाको बिरोधमा इतर पक्षले मधेस प्रदेशमा भेला गर्दै महाअधिवेशनमा शेखरलाई चुनाव जिताउन शंखघोष गरेको छ । नेका वरिष्ठ नेता शेखर कोइराला पक्षधरहरूको भेलाले महाअधिवेशनको रणनिति बनाउदै चुनावी शंखघोष गरेको हो ।

मधेस प्रदेशस्तरीय भेला शनिबार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । बर्दिवासको होटल रेड क्राउनमा आयोजित भेला आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको छ । भेलामा प्रदेशका आठवटै जिल्लाबाट शेखर पक्षधर नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेला मधेस प्रदेश सरकारका पूर्वमन्त्री रामसरोज यादवको अध्यक्षतामा तथा पर्साका वरिष्ठ कांग्रेस नेता एवं पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलामा कांग्रेसको सांगठनिक मजबुती, महाधिवेशनमा शेखर पक्षको जित सुनिश्चित गर्नका लागि आवश्यक रणनीति निर्माण, जिल्ला–प्रदेशस्तरीय सञ्जाल विस्तार तथा अनुशासन निर्माण लगायत विषयमा गम्भीर छलफल भएको गरिएको सहभागी नेताहरूले बताएका छन् ।

भेलामा विशेष सम्बोधन गर्दै नेता राजेन्द्र बहादुर अमात्यले पार्टीमा देखिएको वर्तमान संकट समाधान गर्न र मधेसमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउन गर्न शेखर कोइरालाको नेतृत्व अपरिहार्य भएको बताए। उनले भने, “शेखर कोइराला जस्तो सिद्धान्तनिष्ठ र दूरदर्शी नेता अहिलेको कांग्रेस नेतृत्वको आवश्यकता हो, यो भेला त्यही विचारलाई मूर्तरूप दिन सुरुवात हो ।”

उनले मधेस र मधेसी जनताको समस्या बुझ्ने, समाधान खोज्ने तथा केन्द्रसम्म आवाज पुर्याउन सक्ने सक्षम नेतृत्वका लागि शेखर कोइरालाको पक्षमा दृढ समर्थन आवश्यक भएको बताए ।

भेलामा मधेस प्रदेश भित्रको सांगठनिक अवस्था, तीन तहका सरकारहरूको कामको समीक्षा तथा सुख्खा र जल व्यवस्थापन जस्ता क्षेत्रीय समस्याबारे पनि व्यापक छलफल गरिएको थियो । पर्साका युवा कांग्रेस नेता मनोहर साहका अनुसार, “भेलाले न केवल महाधिवेशनको तयारीलाई बल पु¥याएको छ, बरु प्रदेश भरि कोइराला पक्षलाई संगठित र सबल बनाउन आवश्यक कार्ययोजना निर्माण तर्फ पनि ठोस आधार तयार गरेको छ ।”

भेलामा संविधान सभा सदस्यहरू लक्ष्मण राय, रामचन्द्र चौधरी, नरेश प्रसाई, कांग्रेस केन्द्रीय सदस्य डा। चन्दमोहन यादव, केन्द्र प्रतिनिधि देवराज चालिसे, नेता गुरुराज घिमिरे, पर्साबाट राजेन्द्र बहादुर अमात्य, अजय द्विवेदी, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाल महिला संघकी केन्द्रीय सदस्य सुष्मा तिवारी, वीरगन्ज महानगर अध्यक्ष मणिन्द्रलाल श्रेष्ठ, निवर्तमान क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व सभापति विजय सर्राफ, भोला प्रसाद कलवार, नेताहरू शम्भु चौहान, विजय कर्ण, रोशन लामिछाने, रूपा श्रेष्ठ, सञ्जय चतुर्वेदी लगायतको सक्रिय उपस्थिति रहेको थियो ।

मधेस प्रदेशको राजनीतिक सन्दर्भमा यो भेला केवल एक पक्षीय जमघट मात्र नभएर आगामी महाधिवेशनमा शेखर कोइरालालाई नेतृत्वमा ल्याउने अभियानको संगठित थालनीका रूपमा हेरिएको छ । यस्तै भेलाहरू अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्दै कांग्रेस भित्र वैकल्पिक विचार, अनुशासन र संगठनको सुदृढीकरण गर्ने लक्ष्य तय गरिएको नेताहरूको भनाइ छ ।

पार्टीभित्र वैचारिक स्पष्टता र नेतृत्व परिवर्तनको बहस चर्किंदै गएको बेला मधेसमा भएको यो भेला कांग्रेसको आगामी राजनीतिक नक्शामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।