काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १०५ प्रतिशतले वृद्धि भएको हो ।
यो अवधिमा कम्पनीले ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा ४ करोड ५७ लाख ९८ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी, फि एण्ड कमिसन वापत हुने आम्दानी र सञ्चालन आम्दानी बढेसँगै कम्पनीका नाफामा उल्लेख्य सुधार देखिएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी २९ करोडबाट ४० करोडमा वृद्धि भएको छ । यसैगरी कमिसन तथा फीबाट हुने आम्दानी ४ करोड ८६ लाखबाट ७ करोड २७ लाखमा वृद्धि भएको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा गत वर्ष ४७ करोड ७७ लाख सञ्चालन आम्दानी भएको थियो ।
कम्पनीको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । यो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ४९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भने वितरण योग्य मुनाफा ५५ लाख ८४ हजार रुपैयाँले ऋणात्मक थियो ।
प्रति शेयर आम्दानी बढेर १८.८५ रुपैयाँ पुगेको छ । प्रति शेयर नेटवर्थ १५६.६५ रुपैयाँ, प्रति शेयर कुल सम्पत्ति १ हजार ३०७.३३ रुपैयाँ, लरलता अनुपात ८.५५ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ११.२८ प्रतिशत रहेको छ । कम्पनीको खराब कर्जा १०.१९ प्रतिशतबाट घटेर ७.४३ प्रतशतमा झरेको छ ।
आर्थिकन्यूज