शीर्षकहरू

७९ प्रतिशतले बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचक

७९ प्रतिशतले बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ७९.५४ प्रतिशतले वृद्धि भएको हो । 

यो अवधिमा कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा ३ करोड ८६ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी, फि एण्ड कमिसन वापत हुने आम्दानी र सञ्चालन आम्दानी बढेसँगै कम्पनीका नाफामा उल्लेख्य सुधार देखिएको हो । 

कम्पनीको खुद ब्याज आम्दानी १७ करोडबाट २० करोडमा वृद्धि भएको छ । यसैगरी कमिसन तथा फिबाट हुने आम्दानी १९ करोडबाट २२ करोडमा वृद्धि भएको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष १९ करोड ५३ लाख रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा गत वर्ष २३ करोड ३० लाख सञ्चालन आम्दानी भएको थियो । 

कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ७ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी बढेर १२.१८ रुपैयाँ पुगेको छ । प्रति शेयर नेटवर्थ १२२.११ रुपैयाँ, प्रति शेयर कुल सम्पत्ति १ हजार २६४.९८ रुपैयाँ, लरलता अनुपात ३३.३३ प्रतिशत रहेको छ भने कम्पनीको खराब कर्जा ३.१८ प्रतिशतबाट बढेर ३.३३ प्रतशतमा पुगेको छ ।