शीर्षकहरू

बैंकिङ्ग प्रणालीमा तरलताको चाप कायमै, आज फेरि ५० अर्ब तान्दै केन्द्रीय बैंक

बैंकिङ्ग प्रणालीमा तरलताको चाप कायमै, आज फेरि ५० अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं – केन्द्रीय बैंकले आज ५० अर्ब रुपैयाँ  तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले २८ दिने निक्षेप संकलन गर्न लागेको हो।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ ८ गते हुनेछ । 

केन्द्रीय बैंकले  साउन लागेपछि तेस्रोे पटक तरलता प्रशोचन गर्न लागेको हो । यसअघि गत साउन ४ गते ५० अर्ब तथा साउन ७ गते ७८ अर्ब २५ करोड गरेर साउन महिना लागेपछि मात्रै १ खर्ब २८ अर्ब २५ करोड निक्षेप संकलन उपरकण मार्फत तरलता खिचिसकेको छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा राखेको ३ खर्ब भन्दा बढी रकम परिपक्क हुन बाँकी छ । 

बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको पौने ७ खर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफमा राखेको उक्त रकम केन्द्रीय बैंकमा रहेको छ । 

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ । 

पछिल्लो दुई वर्षमा देखिएको आर्थिक शिथिलताले कर्जाको माग नबढेपछि बैंकहरुले पनि निरन्तर ब्याजदर घटाउँदै गएका छन् । बढ्दो रेमिट्यान्सलगायतका कारण बैंकहरूमा तरलता थुप्रिएको छ । बैंकहरू आफैंले कर्जा बढाउने अवस्था नरहेको तथा सरकारबाट ठोस योजना नआउँदा वित्तीय प्रणालीमा तरलताको समस्या यथावत रहेको बैंकहरुको गुनासो छ । सिडी रेसियोको आधारमा कर्जा प्रवाहका लागि सबै वाणिज्य बैंकहरु सहज अवस्थामा रहेपनि केही बैंकहरुको पुँजी प्रयप्तता कम हुँदा कर्जा प्रवाहमा असहजता रहेको उनीहरुको भनाई छ । अधिक तरलता बढ्दै गएपछि समग्र अर्थतन्त्रमा जोखिम बढ्न थालेको विश्लेषण समेत हुन थालेको छ ।