शीर्षकहरू

प्रतिरोध परीक्षणपछि नेप्सेमा करेक्शन, एकैदिन साढे २६ अर्बको कारोबार

प्रतिरोध परीक्षणपछि नेप्सेमा करेक्शन, एकैदिन साढे २६ अर्बको कारोबार

काठमाडौं । लगातार आठौं कारोबार दिनसम्म बढिरहेको शेयर बजारमा नवौं दिनमा आएर करेक्शन भएको छ । नाफा सुरक्षित गर्नेहरु र लगानी थप्नेहरुबीचको चर्को प्रतिस्पर्धामा कारोबारी हाबी भएपछि नेप्सेमा करेक्शन आएको छ भने एकैदिन साढे २६ अर्ब बढीको कारोबार भएको छ ।

विगत लामो समयदेखि २६ देखि २७ सय अंक वरिपरि घुमिरहेको शेयर बजार पछिल्लो आठ कारोबार दिन लगातार बढेर ३ हजार अंक नजिक आइपुगेको थियो । ३ हजार अंकको मनोवैज्ञानिक विन्दु पार गर्न अलिकति संघर्ष गर्नुपर्ने देखिएको छ । करेक्शनसँगै अगाडि बढ्दै गएको बजारको वृद्धि टिकाउ हुने जानकारहरु बताउँछन् ।

आइतबार नेप्से परिसूचक १८.४४ अंक घटेर २९६४.२० विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने उच्च बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब साढे १८ अर्बको शेयर खरिदबिक्री भएकोमा यस दिन २६ अर्ब ४२ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक २५७ अंक बढेको थियो । सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्शन भएको हो। यस दिन नेप्सेले ३००० देखि ३०५० को प्रतिरोध परीक्षण पनि गरेको छ । सोपश्चात नै यस दिन नेप्सेमा करेक्सन भएको हो। ८ दिनको बढोत्तरीपछि आएको करेक्शन स्वभाविक रहेको उनीहरुको भनाई छ । 

हाल नेप्सेको प्रतिरोध क्षेत्र ३००० देखि ३०५० सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचकले सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा ३१८० देखि ३२३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा २७५० देखि २८०० को क्षेत्रमा टेवा पाउने देखिन्छ। आजको कारोबारमा बजार इन्ट्राडेमा चार वर्षयताकै उच्च विन्दु ३०१३ अंकमा पुगेको थियो । २०७८ भदौमा ३१९८ अंकको सेयर बजारले रेकर्ड कायम गरेकामा त्यसपछि उचाइ लिन सकेको छैन । बजार गत वर्ष साउन मसान्तमा ३००० अंकमा पुगेको थियो ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको हो। त्यस्तै, यस दिन विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी बढेको छ । कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्द बढी घटेको छ।

null

पछिल्लो समय शेयर बजारसँग सम्बन्धित नीतिहरु सहज बनाइएसँगै बजारले बढ्दो गतिलाई निरन्तरता दिएको छ । मौद्रिक नीतिले शेयर बजारमा लगानीका लागि थप खुकुलो नीति लिएकाले यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ । अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त तरलता रहेको अन्य क्षेत्रमा अपेक्षित रुपमा लगानी विस्तार हुन नसकेको र कर्जाको ब्याजदर समेत न्युन रहेकोले शेयर बजारतर्फ लगानीकर्ताको आर्कषण बढेको देखिन्छ ।

अहिलेको बजार बढ्नु पर्ने प्रशस्तै कारणहरु रहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा रहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार शेयर कर्जा लगायत सबैजसो कर्जाको ब्याजदर ८ प्रतिशत तल छ । राष्ट्र बैंकले अझै ब्याजदर घटाउने गरी ब्याजदर करिडोर हेरफेर गरेको छ ।

वित्तीय प्रणालीमा लगानीयोग्य रकम प्रशस्तै छ । वित्तीय प्रणालीमा साढे ९ खर्ब भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सिडि रेसियो तल्लो विन्दुमा छ । अहिले यस्तो रेसियो ७५ प्रतिशतमा नै झरिसकेको छ । कर्जा लिएर शेयर कारोबार गर्नेहरुको लागि पनि सस्तो दरमा कर्जा पाएका छन् । मुद्दतीको ब्याजबाट सन्तुष्ट हुनेहरुलाई पनि घट्दो ब्याजदरले शेयर बजारले आकर्षित गरेको छ ।

साथै केन्द्रीय बैंकले सहजिकरण गर्दै आएको छ । विगतमा बजारलाई अप्ठ्यारो पारेको नीतिहरुमा परिवर्तन भएको छ । शेयर कर्जाको जोखिम भार १०० मा झरेको छ । धितो कर्जाको सीमा १५ बाट २५ करोड पुर्याएको छ । भर्खरै मात्र नयाँ आर्थिक वर्षको सुरुवात भएको र राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका व्यवस्थाहरु कार्यन्वयनको चरणमा रहेकाले नतिजा देखिन अझै समय लाग्ने देखिन्छ । 

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम ८५ करोड नाघेको छ।

null