शीर्षकहरू

असारमा ३१ प्रतिशतले बढ्यो सिमेन्टको निर्यात

असारमा ३१ प्रतिशतले बढ्यो सिमेन्टको निर्यात

काठमाडौं । गत आर्थिक वर्षको असार महिनामा सिमेन्टको निर्यात वृद्धि भएको छ । असार महिनामा रकमका आधारमा सिमेन्टको निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार महिनामा १९ करोड ५६ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । गत आवको असार महिनामा २५ करोड ६३ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ । जुन ३१ प्रतिशत बढी हो ।

गत वर्षको मध्यमतिर ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) ले नेपालमा उत्पादन भएका सिमेन्ट सहित विभिन्न बस्तुलाई गुणस्तर प्रमाणपत्र रोक लगाएको थियो । जसले नेपालबाट भारत निर्यात हुने सिमेन्ट घटेको थियो । तर, चैतदेखि भारतले फेरि गणस्तर जारी गरेपछि नेपालबाट हुने निर्यात वृद्धि भएको हो । असार महिनामा निर्यात भएको सिमेन्टको परिणाम भने घटेको तथ्यांकमा देखिन्छ । निर्यात रकम भने वृद्धि भएको हो । 

एक वर्षमा हुने निर्यात भने घट्यो 

विभागको तथ्यांक अनुसार गत वर्षमा अघिल्लो वर्षको तुलनामा सिमेन्ट निर्यात २४.२९ प्रतिशतले गिरावट आएको छ । भारतले गुणस्तर प्रमाणिकरणमा रोक लगाउँदा गत आवमा सिमेन्ट निर्यात प्रभावित भएको हो । 

अघिल्लो वर्ष ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो भने गत आवमा २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ । 

निर्यात हुने सिमेन्टको परिणामका आधारमा भने गत वर्ष ७० प्रतिशत घटेको छ । अघिल्लो वर्ष २८ लाख ३९ हजार टन सिमेन्ट निर्यात भएकोमा गत वर्ष ८ लाख ८६ हजार टन मात्र निर्यात भएको छ ।

नेपालबाट भारतमा सिमेन्ट निर्यात हुँदै आएको छ । २०७९ सालको असारदेखि नेपालबाट भारततर्फ सिमेन्ट निर्यात सुरु भएको थियो । आव २०७९/०८० मा ७७ करोड ९३ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । सो वर्ष १० लाख टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसैक्रममा २०८०/०८१ मा आइपुग्दा सिमेन्टको निर्यातले राम्रै गति लिएपनि २०८१/०८२ मा भने गुणस्तरको विषयले निर्यात प्रभावित हुन पुग्यो ।  भारतसँगको छलफलपछि यस विषय आशिंक रुपमा मात्र समाधान भयो । अझै केही उद्योगहरुले गुणस्तर प्रमाणपत्र नपाएको गुनासो गर्दै आएका छन् ।