काठमाडौं । वित्तीय क्षेत्रभन्दा बाहिर साढे ७ खर्ब रकम चलनचल्तीमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार महिनासम्मको तथ्यांकअनुसार चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) ७ खर्ब ५० अर्ब ११ करोड रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा यस्तो चलनचल्तीमा रहेको रकम ७० अर्ब ६ करोड ३६ लाख रुपैयाँले बढेकोे छ । २०८१ को असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो । २०८२ असार मसान्तसम्म आइपुग्दा ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपैयाँ पुगेको हो ।
यसैगरी, राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ७ खर्ब ८ अर्ब १ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ । एक वर्षको अवधिमा सञ्चित रकम १६ खर्ब ४१ अर्ब ९५ करोड ७० लाख रुपैयाँले बढेको हो । अघिल्लो असारको अन्त्यसम्ममा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।
हालसम्म राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब ५९ अर्ब १३ करोड २३ लाख रुपैयाँ छ । सम्पत्ति तथा दायित्व गत असारको तुलनामा ५ खर्ब ९२ अर्ब १० करोडले रुपैयाँले बढेको छ । गत असारसम्म २० खर्ब ६७ अर्ब २ करोड दायित्व रहेको देखिन्छ । राष्ट्र बैंकले यस अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखेको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी बढाएको छ ।
गत आवको अन्त्यसम्म बैंकको विदेशी मुद्रा सम्पत्ति २५ खर्ब ६७ अर्ब १० करोड र स्वदेशी मुद्रा सम्पत्ति ९२ अर्ब २ करोड रहेको छ । यस्तै केन्द्रिय बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा २३ अर्ब ४० करोड रहेको विवरणमा उल्लेख छ । साथै विदेशका विभिन्न बैंक खातामा १९ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ, विदेशी बैंकमा टर्म डिपोजिटतर्फ ७ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ, विदेशी ऋणपत्रमा लगानीमा १५ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ खर्चेको छ ।
राष्ट्र बैंकले विदेशी सुनमा मात्रै १ खर्ब १८ अर्ब १९ करोड लगानी गरेको विवरणमा उल्लेख छ । यसैगरी राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा जम्मा ७९ लाख रुपैयाँ राखेको छ भने १५ अर्ब २६ करोड रुपैयाँ सरकारी ऋणपत्र तथा ४४ अर्ब सु्नचााँदीमा लगानी गरेको छ ।
केन्द्रीय बैंकले आवश्यकता हेरी मनि सप्लाई घटबढ गर्ने गर्छ । मुद्राप्रदाय (मनि सप्लाई) बढाउँदा ब्याजदर वृद्धि, बचत, लगानी तथा उत्पादन विस्तार र थप रोजगारी सिर्जना हुन्छ । केन्द्रीय बैंकले पुराना, धुजा परेका, च्यातिएका, भिजेका, राजाको फोटो भएका, रंग लागेका नोटहरु बैंक-वित्तीय संस्थामार्फत् बजारबाट खिच्ने गरेको छ भने आवश्यकता अनुसार नयाँ नोट पठाउँछ ।
आर्थिकन्यूज