शीर्षकहरू

करेक्शनपछि लयमा फर्किर्ने प्रयासमा शेयर बजार, ३ हजारको प्रतिरोध तोड्ला ?

करेक्शनपछि लयमा फर्किर्ने प्रयासमा शेयर बजार, ३ हजारको प्रतिरोध तोड्ला ?

काठमाडौं । लगातार आठौं कारोबार दिनसम्म बढिरहेको शेयर बजारमा नवौं र दशौं दिनमा करेक्शन आएको छ । आइतबार इन्ट्रा डेमा ३ हजार १३ विन्दुसम्म उक्लिएको नेप्से बजार बन्द हुने समयसम्म आइपुग्दा १८ अंकले ओरालो लागेको यियो । सोमबार इन्ट्रा डे मा ४६ अंकसम्म झरेको बजार बन्द हुने समयसम्म आइपुग्दा २ अंकले मात्र घटेर बन्द भएको छ । 

नाफा सुरक्षित गर्नेहरु र लगानी थप्नेहरुबी चर्को प्रतिस्पर्धा चल्दा इन्ट्रा डे मा ५० अंक भन्दा बढीको उतारचढाब देखिएको छ । करेक्शनपछि लयमा फर्किन खोजेकोे बजारले ३ हजार अंकको मनोवैज्ञानिक प्रतिरोध विन्दु पार गर्ने आँकलन गर्न थालिएको छ । तर, यसका लागि अलिकति संघर्ष गर्नुपर्ने देखिएको छ । करेक्शनसँगै अगाडि बढ्दै गएको बजारको वृद्धि टिकाउ हुने जानकारहरु बताउँछन् ।

सोमबार नेप्से २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा रहेको छ । यसदिन १९ अर्ब ३६ करोड बराबरको काराबोर भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा ७ अर्ब कम हो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से १८.४४ अंकले घटेको थियो भने २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत बढेको छ।  विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ।

हाल नेप्सेको प्रतिरोध क्षेत्र ३००० देखि ३०५० सम्म रहेको प्राविधिक विश्लेषकहरुको भनाई छ । आगामी दिनमा नेप्से परिसूचकले सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा ३१८० देखि ३२३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ । तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा २७५० देखि २८०० को क्षेत्रमा टेवा पाउने देखिन्छ । एक दिनको करेक्शनपश्चात नै बजार फकिर्ने प्रयासमा रहेकाले नेप्सेले छ्ट्टिै प्रतिरोध तोड्नेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । अघिल्लो बुलको तुलनामा यसपटको नेप्सेको बढाई अवधि कम हुनुका साथै नेप्से बढ्न लिएको समय पनि छोटो रहेकाले अझ नेप्से बढ्नै बाँकी रहेकोे विश्लेषण धेरै लगानीकर्ताले गरेका छन्।

पछिल्लो समय शेयर बजारसँग सम्बन्धित नीतिहरु सहज बनाइएसँगै बजारले बढ्दो गतिलाई निरन्तरता दिएको छ । मौद्रिक नीतिले शेयर बजारमा लगानीका लागि थप खुकुलो नीति लिएकाले यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ । अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त तरलता रहेको अन्य क्षेत्रमा अपेक्षित रुपमा लगानी विस्तार हुन नसकेको र कर्जाको ब्याजदर समेत न्युन रहेकोले शेयर बजारतर्फ लगानीकर्ताको आर्कषण बढेको देखिन्छ ।

अहिलेको बजार बढ्नु पर्ने प्रशस्तै कारणहरु रहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा रहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार शेयर कर्जा लगायत सबैजसो कर्जाको ब्याजदर ८ प्रतिशत तल छ ।

राष्ट्र बैंकले अझै ब्याजदर घटाउने गरी ब्याजदर करिडोर हेरफेर गरेको छ।वित्तीय प्रणालीमा लगानीयोग्य रकम प्रशस्तै छ । वित्तीय प्रणालीमा साढे ९ खर्ब भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सिडि रेसियो तल्लो विन्दुमा छ । अहिले यस्तो रेसियो ७५ प्रतिशतमा नै झरिसकेको छ । कर्जा लिएर शेयर कारोबार गर्नेहरुको लागि पनि सस्तो दरमा कर्जा पाएका छन् । मुद्दतीको ब्याजबाट सन्तुष्ट हुनेहरुलाई पनि घट्दो ब्याजदरले शेयर बजारले आकर्षित गरेको छ ।

साथै केन्द्रीय बैंकले सहजिकरण गर्दै आएको छ । विगतमा बजारलाई अप्ठ्यारो पारेको नीतिहरुमा परिवर्तन भएको छ । शेयर कर्जाको जोखिम भार १०० मा झरेको छ । धितो कर्जाको सीमा १५ बाट २५ करोड पुर्याएको छ । भर्खरै मात्र नयाँ आर्थिक वर्षको सुरुवात भएको र राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका व्यवस्थाहरु कार्यन्वयनको चरणमा रहेकाले नतिजा देखिन अझै समय लाग्ने देखिन्छ । 

यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन सान्भि इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। शेयरमूल्य बढेको अरु स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ७७ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ।

null