शीर्षकहरू

पुनर्बीमा नीतिमा खोट, स्वदेशी कम्पनीमा अनिवार्य पुनर्बीमा गर्नुपर्ने प्राधिकरणको व्यवस्थाले बीमकहरु रुष्ट

पुनर्बीमा नीतिमा खोट, स्वदेशी कम्पनीमा अनिवार्य पुनर्बीमा गर्नुपर्ने प्राधिकरणको व्यवस्थाले बीमकहरु रुष्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणको स्वदेशी बीमा कम्पनीमा अनिवार्य रुपमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था प्रति बीमा कम्पनीहरू रुष्ट भएका छन् । प्राधिकरणले अनिवार्य गरेपछि पुनर्बीमा कम्पनीको दादागिरी बढेको भन्दै अनिवार्यको प्रावधानलाई हटाउन प्राधिकरणलाई आग्रह गरेका छन्।

नेपालमा दुई वटा पुनर्बीमा कम्पनी छन्। नेपाल सरकार र बीमा कम्पनीहरूको लगानीमा नेपाल पुनर्बीमा कम्पनी खोलिएको छ भने निजी क्षेत्रको लगानीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी खोलिएको हो । नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । २०७० पुसमा यस कम्पनीको स्थापना भएको हो । यो कम्पनी स्थापना भएसँगै प्राधिकरणले बीमा कम्पनीहरूको पुनर्बीमाको प्रत्यक्ष तर्फको २० प्रतिशत अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न निर्देशन दिएको थियो । सरकारकै लगानीमा रहेको यो कम्पनीलाई प्रोत्साहन गर्नका लागि २० प्रतिशत अनिवार्य गर्नुपर्ने प्राधिकरणको तर्क थियो । प्राधिकरणको निर्णय प्रति त्यतिबेला नै बीमा कम्पनीहरू असन्तुष्ट थिए ।

२०७८ सालमा असारमा निजी क्षेत्रको लगानीमा नेपालमा अर्को पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको स्थापना भयो । यो कम्पनीको लागि पनि बीमा कम्पनीहरूले अनिवार्य रुपमा पुनर्बीमाको हिस्सा छुट्टाउनु पर्ने भयो । यो व्यवस्था बीमा कम्पनीहरू प्राधिकरण प्रति झनै रुष्ट बनेका छन् । 

प्राधिकरणले गरेको अनिवार्यको व्यवस्था हटाउन निर्जीवन व्यवसायी संघले प्राधिकरणसँग आग्रह गरेको छ । संघले प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवाललाई भेटी अनिवार्य गरिएको प्रावधान हटाउन आग्रह गरिएको संघका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

यस्तै, संघले प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई समेत भेटी पुनर्बीमाका गरिएको अनिवार्यको प्रावधान हटाउन आग्रह गरेको उनले बताए । ‘तर दुवै अध्यक्षले सकारात्मक प्रतिक्रिया दिनु भएन । हामी फेरी अहिलेको अध्यक्षलाई भेट्न जान्छ । त्यहाँबाट नभए हामी संसदमा नै जानेछौ,’ उनले भने । 

पाँच वर्षसम्म स्वदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने प्राधिकरणको प्रावधान

नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरूले पाँच वर्षसम्म निश्चित प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमा गर्नुपर्ने प्रावधान गरेको छ।

बीमकको पुनर्बीमा निर्देशिका २०८० अनुसार बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमा अन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष हिस्सा बाँडफाँड गर्नुपर्ने प्रावधान छ । प्राधिकरणले बीमा कम्पनीहरूलाई आर्थिक वर्ष २०७९/८० मा १०/१० प्रतिशत बाँडफाँड गर्नुपर्ने प्रावधान राखेको छ । आव २०८०/८१ मा ८/८ प्रतिशत, आव २०८१/८२ मा ६/६ प्रतिशत, आव २०८२/८३ मा ४/४ प्रतिशत, आव २०८३/८४ मा २/२ बाँडफाँड गरी पुनर्बीमा गर्नुपर्ने प्रावधान तोकेको छ । आव २०८४/८५ र ततपश्चात भने अनिवार्य गरिएको छैन ।

प्रत्यक्ष हिस्सा बाँडफाँड गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुने गरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था छ । त्यसपछि बाँकी रहेको हिस्सामध्ये कम्पनीले आफनो क्षमता अनुसार आफैले जोखिम धारण गर्छन् । बाँकी रहेका हिस्सा विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न पाउँछन् । 

अनिवार्य गर्दा पुनर्बीमा कम्पनीको बढ्यो दादागिरी, अन्तराष्ट्रिय पुनर्बीमकले बढाए प्रिमियम

नेपाल बीमा प्राधिकरणले स्वदेशी कम्पनीमा अनिवार्य रुपमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेपछि नेपाली बीमा कम्पनीहरूको दादागिरी बढेको बीमा कम्पनीहरूको गुनासो छ । कम्पनीहरूले कम जोखिम भएका पोलिसीको मात्रै पुनर्बीमाको लागि स्वीकार गर्ने र उच्च जोखिम भएका पोलिसीहरु अस्वीकार गर्ने गरेको निर्जीवन बीमा व्यवसाय संघका अध्यक्ष राजेन्द्र मल्लले बताए । प्रभु इन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत रहेका मल्लले स्वदेशी पुनर्बीमा कम्पनीले आफुखुशी पोलिसी स्वीकार गर्ने गरेको गुनासो गरे । अहिले हामीले उच्च जोखिम भएका पोलिसी मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने अवस्था छ । जसका कारण विदेशी कम्पनीले प्रिमियम शुल्क बढाएका छन् ।

प्राधिकरणले अन्तराष्ट्रिय स्तरमा नभएको अभ्यास नेपालमा गरेको समेत उनले आरोप लगाएका छन । ‘कुनै पनि मुलुकमा स्वदेशी कम्पनीलाई यति दिनैपर्छ भन्ने प्रावधान छैन।कम्पनीहरूलाई प्रतिशत नै तोकेपछि कम्पनीहरूले दिने सेवा सुविधामा प्रतिस्पर्धा नै भएन नी,’ उनले भने । 

उनी भन्छन् ‘बरु प्राधिकरणले एकमुष्ट रुपमा स्वदेशी कम्पनीको लागि सीमा तोकिदेओस । कम्पनीको सेवा सुविधा अनुसार कुन कम्पनीलाई कति व्यवसाय दिने भन्ने कुराको निर्णय कम्पनीले आफैले गर्छन् ।’

निर्देशिका अनुसार बीमकले फयाकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्नेछ र स्वदेशी पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौवीस घण्टा भित्र जवाफ पठाउनु पर्ने प्रावधान छ।तर, बीमा कम्पनीहरुले २४ घण्टा जवाफ नपठाउने गरेको बीमा प्राधिकरणका एक अधिकारीले बताए । ‘तोकिएको समयमा कम्पनीहरूले जवाफ पठाउँदैनन् । जवाफ नपठाएपछि कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्छन् । त्यही विषयलाई फेरी पुनर्बीमा कम्पनीहरूले किचलो निकाल्छन्,’ उनले भने । कतिपय बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीबाट समयमा नै दाबी भुक्तानी समेत नपाउने गरेको उनले बताए । 

निर्देशिका अनुसार प्रत्यक्ष हिस्सा अन्तर्गत हवाई बीमा, हुलदंगा तथा आतंकवाद र विविध बीमा अन्तर्गत पर्ने, स्वास्थ्य, यात्रा, टेकिङ बीमा समावेश हुनेछैन । पुनर्बीमकलाई बीमकबाट प्राप्त प्राधिकरणले निर्धारण गरे बमोजिम प्राप्त प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न पाउने छैन ।

बीमकहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिवुटी बीमा, हुलदंगा तथा आतंकबाद बीमा र विविध बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने छ र त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन ।

नेटवर्थको ५ प्रतिशतसम्म खुद धारणा गर्न पाउँछन् नेपाली बीमकले

बीमकले आफनो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । बीमकले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफनो नेट वर्थको अधिकत्तम् धारण जीवन बीमकको हकमा शून्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुुनुहुँदैन । जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० प्रतिशत सम्म धारण गर्न सकिनेछ ।

विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरि रहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारणा कायम गरी पुनर्बीमा गर्न सकिनेछ ।

पुनर्बीमा विविधिकरण गर्दा जुनसुकै अवस्थामा निर्जीवन बीमकको हकमा सम्पूर्ण पोर्टफोलियो र प्रति पोर्टफोलियो दुवैको अधिकतम ६० प्रतिशत भन्दा बढी हुने गरी एउटै पुनर्बीमकसँग पुनर्बीमा गराउनु हुँदैन ।

पुनर्बीमाको विविधिकरणको लागि मुख्य पुनर्बीमकलाई कुल पुनर्बीमकको बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी (फलोअर) पुनर्बीमकको हकमा प्रत्येक पुनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिनेछ । यो व्यवस्था जीवन बीमकको हकमा लागू हुने छैन । तर, लिडर सरहको रेटिङ कायम भएको पुनर्बीमक रहेछ भने पुनर्बीमकसँग मुख्य पुनर्बीमक  सरह नै पुनर्बीमा व्यवस्था गर्न सकिनेछ ।

कम्पनीहरुले महाविपत्ति पुनर्बीमा, फयाकल्टेटिभ पुनर्बीमा र कुनै विशेष प्रकारको वैदेशिक यात्रा, टेकिङ, क्लिनिकल ट्रायल, पेशागत दायित्व र स्वास्थ्य तथा औषधोपचार, जोखिमहरुको पुनर्बीमा एउटै पुनर्बीमकसँग पुनर्बीमा गराउन सक्नेछ । सो भन्दा बाहेक अन्य कुनै विशेष प्रकारको बीमामा विविधिकरण गर्न नसकी एउटै पुनर्बीमकसँग पुनर्बीमा गर्नु परेमा प्राधिकरणबाट स्वीकृति लिएर पुनर्बीमा गर्न सकिनेछ ।

बीमकले पुनर्बीमा गर्दा रेटिङग भएको पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्नेछ । लिडरको कम्पनीको हकमा एएम वेस्ट, एस एण्ड पि र फिच रेटिङ एजेन्सीबाट रेटिङ गराएको अवस्थामा A- रेटिङ प्राप्त गरेको हुनुपर्नेछ । मोडिस रेटिङ एजेन्सीबाट रेटिङ गराएको अवस्थामा A3 रेटिङ पाएको हुनुपर्नेछ । फलोअर कम्पनीको हकमा एम वेस्ट रेटिङबाट B, एस एण्ड पि रेटिङ एजेन्सीबाट BBB, मोडिस रेटिङ एजेन्सीबाट Bbb1  र फिच रेटिङ एजेन्सीबाट BBB रेटिङ पाएको हुनुपर्नेछ । 

बीमकले फयाकल्टेटिभ पुनर्बीमा गर्दा भने एम वेस्ट रेटिङबाट B, एस एण्ड पि रेटिङ एजेन्सीबाट BBB, मोडिस रेटिङबाट Bbb1 र फिच रेटिङ एजेन्सीबाट BBB रेटिङ पाएको हुनुपर्नेछ । तर, स्वदेशी पुनर्बीमक तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमा रहेका पुनर्बीमकको हकमा रेटिङ सम्बन्धी व्यवस्था लागू हुनेछैन । 

पुनर्बीमा भनेको के हो ? 

बीमा कम्पनीहरुले आफुले लिएको जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । एउटा कम्पनीले जोखिम लिदा महाविपत्ति जस्ता अवस्थामा भुक्तानी गर्न असम्भव हुने हुँदा बीमाको सिद्धान्त अनुसार जोखिमको हस्तान्तरण गरिन्छ । हस्तान्तरण गर्ने  प्रक्रिया नै पुनर्बीमा हो । बीमा कम्पनीहरुको जोखिम लिने कम्पनीलाई पुनर्बीमा भनिन्छ । 

पुनर्बीमा तीन प्रकारका हुन्छन् । टिट्री पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याल्टेटिभ पुनर्बीमा) र बीमा पुल पनि पुनर्बीमा गरिन्छ । आफूले पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमा गर्नुपर्ने प्राधिकरणको प्रावधान छ । बीमकले पुनर्बीमा गर्दा जोखिमको विविधीकरण गर्नुपर्छ । 

बीमकले प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नुपर्नेछ । बीमकले प्रत्येक बीमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बीमाको व्यवस्था नगरी बीमालेख जारी गर्न पाइदैन । बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउन पाइदैन ।