हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आज प्रक्रिया अगाडि बढ्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए । संसदीय दलका ३७ मध्ये १९ जना सांसदको समर्थन गरेमा हालका मुख्यमन्त्री बहादुरसिंह लामाको सरकार अल्पमतमा पर्ने छ । लामाको विपक्षमा २१ जनाले हस्ताक्षर गरेपछि राजनीतिक सङ्कट चुलिएको थियो ।
९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियालाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ । हिजो सोमबार मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानिया पक्षबीच सहमति भएर आज १० बजेबाट अविश्वास प्रस्तावलाई प्रक्रियामा अगाडि बढाउने सहमति भएको थियो ।
बजेटमा अनियमितता गरेको भन्दै अहिले प्रदेश सरकारप्रति सत्तारूढ दलहरुमा असन्तुष्टि छ । लामालाई दलको नेताबाट हटाउन मन्त्रीहरुले नै माग गरेका छन् । काँग्रेसका बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले सरकारमा अविश्वास र भ्रष्टाचार बढेको गुनासो आएपछि सरकारको नेतृत्व गर्नुअघि प्रतिपक्षी भूमिकासमेत प्रभावकारी नभएको र मुख्यमन्त्री एक/एक वर्ष आलोपालो गर्ने सहमति पालना नभएको कारण देखाएको छ । अविश्वास प्रस्ताव दर्ता गर्दा संस्थापन पक्ष र महामन्त्री गगन थापा पक्षका सांसदसहित २१ जनाको हस्ताक्षर छ ।
बजेट, सरकारको काम र संसदीय दलको भूमिका कमजोर भएको भन्दै आलोचना भइरहेका बखत प्रदखेश मन्त्रीहरू नै मुख्यमन्त्री लामाको साथ छाडेर सभापति बानियाको पक्षमा पुगेका थिए । केहि दिनदेखि बागमती प्रदेशका नेपाली काँग्रेसका सांसदहरु लामा तर्फ र बानिया तर्फ आउने जाने भइरहेको छ ।
केहि दिनदेखि वर्तमान मुख्यमन्त्रीबा तर्फबाट सांसदलाई मन्त्री पद नछाड्न र बाहिर रहेका सांसदलाई समेत मन्त्रीपद सहित १ करोड रुपैयाँ अफर आएको एक सांसदले बताए । गत २०७९ पुस १३ मा भएको संसदीय दलको निर्वाचबाट बहादुर लामा मुख्यमन्त्री बनेका थिए ।
आर्थिकन्यूज