काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको अवधि सकिएको दुई वर्ष पुरा भै सक्दा पनि सात बीमा कम्पनीहरुले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार दुई जीवन बीमा र पाँच निर्जीवन कम्पनीले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।
प्राधिकरणको २०७८ साल चैतमा बसेकोे सञ्चालक समितिको बैठकले जीवनको हकमा पाँच अर्ब र निर्जीवनको हकमा दुई अर्ब ५० करोड पूँजी पुर्याउने निर्णय गरेको थियो । पूँजी कायम गर्नका लागि प्राधिकरणले कम्पनीहरुलाई एक वर्षको अवधि दिएको थियो । तर, तोकिएको अवधि सकिएको दुई वर्ष वितिसक्दा पनि सात कम्पनीले पूँजी पुर्याउन सकेका छैनन् ।
तोकिएको अवधिभित्र पुँजी नपुर्याउने कम्पनीहरुलाई भने प्राधिकरणले कुनै कारबाही गर्न सकेको छैन । प्राधिकरणले गत वर्ष नै पूँजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने भनेको थियो, तर कारबाही भने गरेन । प्राधिकरणका निर्देशक शाम्वाराज लामिछानेले गत वर्ष नै कम्पनीहरुलाई कारबाही गर्ने भनिए पनि कारबाही भने नभएको स्वीकारे ।
प्राधिकरणले किन कारबाही गर्दैन भन्ने प्रश्नको उत्तर उनले मात्र होइन् प्राधिकरणका कार्यकारी निर्देशक शुशिल देव सुवेदिले पनि दिन सकेनन् ।
कुन कुन कम्पनीको न्यूनतम् पूँजी पुगेन ?
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसी इन्स्योरेन्सले गत आवको असार मसान्तसमम पूँजी न्यूनतम् पूँजी पुर्याउन सकेका छैनन् ।
जसमध्ये नेपाल इन्स्योरेन्स र एशियन लाइफको पूँजी पुग्ने चरणमा रहेको छ । नेपाल इन्स्योरेन्सको हाल एक अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीले अहिलेको पूँजीको ३८.७८३ प्रतिशत अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ बराबरको हकप्रद निष्काशन गरेको छ । हकप्रद बिक्री पछि कम्पनीको पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार पुग्नेछ ।
एशियन लाइफ इन्स्योरेन्सले पनि हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको हकप्रद निष्काशन तथा बिक्री खुला गरेको छ । यसैगरी, कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५.१० प्रतिशत अर्थात् १७ करोड ३३ लाख ९१ हजार रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस वितरण र हकप्रद बिक्री पछि कम्पनीको पूँजी ५ अर्ब ११ लाख रुपैयाँ पुग्नेछ ।
यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि हकप्रद र बोनस शेयर वितरणबाट पूँजी वृद्धि गर्न अघि सरेको छ । जसअनुसार कम्पनीको वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । बोनस शेयर वितरण र हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ।
हकप्रद निष्काशनको अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृत पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।
यता, प्रभु इन्स्यारेन्स पनि हकप्रद र बोनस शेयर वितरण गरेर पूँजी वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँको १८ प्रतिशत बोनस वितरण पश्चात हुने पूँजीको ४७ हकप्रद निष्काशन गर्ने घोषणा गरेको छ । सो प्रस्ताव पारित गर्नका लागि कम्पनीले साउन २३ गते वार्षिक साधारणसभा डाकेको छ । बोनस शेयर र हकप्रद वितरण पछि कम्पनीको न्यूनतम् पूँजी पुग्ने कम्पनीका सचिव अविन्द कुमार कर्णले जानकारी दिए ।
उनका अनुसार १८ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको पूजी २ अर्ब ७१ लाख २७ हजार पुग्नेछ । त्यसपछि ४७ प्रतिशत हकप्रद निष्काशन गर्दा २ अर्ब ९५ करोड ४ लाख ७८ हजार रुपैयाँ पूँजी पुग्ने छ ।
कम्पनीले यसअघि २०८१ असारमा नेपाल धितापत्र बोर्डमा ५०.१५ प्रतिशत हकप्रदको स्वीकृती माग्दै आवेदन दिएको थियो । सो ५०.१५ प्रतिशतलाई संसोधन गरेर ४७ प्रतिशत हकप्रद जारी गर्ने कम्पनीले घोषणा गरेको हो ।
गत चैतमा सम्पन्न भएको सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारण सभाले तत्कालिन चुक्ता पूँजी २ अर्बको ७.५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस पछि कायम पूँजी २ अर्ब १५ करोडको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीका सूचना अधिकारी भद्र विस्टका अनुसार कम्पनीले बोनस वितरण गरिसकेको छ । हाल कम्पनीको पूँजी २ अर्ब १५ करोड रुपैयाँ छ । जसको १७ प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएको पनि उनले जानकारी दिए । कम्पनीले २५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै २०८१ कार्तिक ३० गते बोर्डमा आवेदन दिएको थियो । सो २५ प्रतिशतलाई संसोधन गरेर १७ प्रतिशत हकप्रद जारी गर्न लागेको सूचना अधिकारी विस्टले बताए ।
उनले भने, 'गत वर्ष २ अर्ब पूँजी थियो । २५ प्रतिशत हकप्रद जारी गर्दा २ अर्ब ५० करोड पुग्थ्यो । पछि बोनस शेयर वितरण पश्चात् २ अर्ब १५ करोड पूँजी पुग्यो । यस अवस्थामा न्यूनतम पूँजी कायम गर्न २५ प्रतिशत नै हकपद जारी नगरे पनि हुने भयो । त्यसकारण प्रस्तावित हकप्रद संसोधन गरेर १७ प्रतिशतमा झारेका हौँ ।’ १७ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको पूँजी २ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ पुग्ने छ ।
दुई सरकारी कम्पनीको के छ योजना ?
दुई सरकारी कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीले पूँजी वृद्धिको योजना बनाएको छ । जसअनुसार अर्थ मन्त्रालयले पनि स्वीकृत दिएको कम्पनीका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनका अनुसार ५ अर्बको ७० प्रतिशत अर्थात् ३ अर्ब ५० करोड रुपैयाँ हाल कायम संस्थापक शेयरधनीहरुले लगानी गर्ने र बाँकी ३० प्रतिशत आईपीओ निष्काशन गर्ने निर्णय भएको उनले बताए ।
सूचना अधिकारी गौतमका अनुसार कम्पनीले संस्थापक शेयरधनीहरुलाई पूँजी थप गर्न पत्र समेत पठाएको छ । कम्पनीमा नेपाल राष्ट्र बैंकको शेयर स्वामित्व ५५.५६ प्रतिशत, नेपाल सरकारको २७.७७ प्रतिशत र नेपाल बैंकको स्वामित्व १६.६७ प्रतिशत रहेको छ । हाल चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
शेयरधनीहरुले आफ्नो शेयरको अनुपात अनुसार ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ थप गर्नुपर्ने हुन्छ । राष्ट्रिय बीमा कम्पनीले भने अर्थ मन्त्रालयसँग विभिन्न मोडालिटिमा छलफल गरिरहेको जनाएको छ । बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने विषयमा अर्थमा प्रस्ताव लगिएको कम्पनीका एक उच्च अधिकारीले आर्थिक न्यूजलाई जानकारी दिए ।
ति अधिकारीले भने, 'हामिले हकप्रद, बोनस शेयर वा बोनसँगै हकप्रद जारी गर्ने मोडालिटिमा अर्थसँग बारम्बार छलफल गरेका थियौँ । तर अर्थले स्वीकृति दिएको छैन ।’
कम्पनीको हाल २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पूँजी छ । कम्पनीमा २ अर्ब २३ करोड ३३ लाख ६१ हजार रुपैयाँ पूँजी थप गर्नुपर्ने छ ।
कम्पनीमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैंकको ९.६० र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेको छ ।
आर्थिकन्यूज