शीर्षकहरू

विशिष्टीकृत बैंकिङ र कर्जा विस्तारमा ध्यान दिन बैंकरहरुलाई गभर्नरको निर्देशन

विशिष्टीकृत बैंकिङ र कर्जा विस्तारमा ध्यान दिन बैंकरहरुलाई गभर्नरको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुका कार्यकारी प्रमुखहरुलाई कर्जा विस्तारमा पनि ध्यान दिन निर्देशन दिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेको र त्यसलाई व्यवस्थापन गर्न सकश झेलिरहेको केन्द्रिय बैंकले कर्जा प्रवाहमा केन्द्रीत भई अर्थतन्त्रलाई चलायमान बनाउन बैंकरहरुलाई निर्देशन नै दिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थाप्रति बैंकरहरुको बुझाइ तथा कार्यन्वयनको तयारीका सन्दर्भमा मंगलबार आयोजित औपचारिक छलफलमा गभर्नर डा. विश्वनाथ पौडेलले असुलीमा मात्र नभई कर्जा विस्तारमा पनि फोकस हुन बैंकरहरुलाई निर्देशन दिएका हुन । मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले वित्तीय विवरण प्रकाशन गर्ने समायवधि थपिदिएको थियो । यो बेला बैंकहरु कर्जा असुलीमा बढी केन्द्रीत भएपछि कर्जा विस्तार ठप्प जस्तै रहेकाले राष्ट्र बैंकले कर्जा विस्तारमा पनि ध्यान दिन भनेको हो ।

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु तथा गभर्नरसहित राष्ट्र बैंकका उच्च अधिकारीहरुबीच चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावकारी कार्यन्यवनका बिषयमा गहन छलफल भएको सहभागि एक बैंकरले जानकारी दिए । त्यस्तै, केन्द्रीय बैंकले बैंकरहरुसँग वित्तीय क्षेत्र रणनीतिका विषयमा पनि छलफल गरको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत दोस्रो चरणको वित्तीय क्षेत्र रणनीति कार्यान्वयन लग्ने घोषणा राष्ट्र बैंकले गरेको थियो।

साथै, सो छलफलमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक गरिएका विभिन्न व्यवस्थाहरूका बिषयमा पनि छलफल भएको अर्का एक बैंकरले बताए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमा बैंकर र व्यवसायी छुट्याउने व्यवस्था गर्दा लगानीकर्तालाई उपयुक्त एक्जिट प्लान दिनुपर्ने बैंकरहरुले सुझाएको उनले जानकारी दिए । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल चलिरहेको बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने प्रयासस्वरूप केही व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

छलफलमा गभर्नर पौडेलले बैंकहलाई कार्यक्षेत्रमा परिमार्जन गर्नतर्फ पनि ध्यानकर्षण गराएका छन् । गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा नै बैंकहरुको वर्गिकरण नयाँ तरिकाबाट गरिने घोषणा गरेका थिए । गभर्नर पौडेलले युनिभर्सल बैंकिङको मात्रै नभएर विशेषीकृत (स्पेशलाइज्ड) बैंकिङतर्फ जोड दिन बैंकहरुलाई विशेष आग्रह गरेको पनि उनले जानकारी दिए । 

राष्ट्र बैंकले बैंकहरुको क्षमता र विशेषताका आधारमा ऊर्जा, कृषि, एमएसएमई जस्ता क्षेत्रमा लगानी गर्ने विशिष्टीकृत बैंक तोक्ने घोषणा मौद्रिक नीतिमा नै समावेश गरेको छ । साथै राष्ट्र बैंकले आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको योजना बुझाउन पनि बैंकहरुलाई निर्देशन दिएको छ । त्यसका साथै बैंकहरुलाई छिटो साधारणसभा गर्न पनि आग्रह गरेको छ । 

मंगलबार बैंकर सँग छलफल गरेको कैन्द्रीय बैंकको उच्च अधिकारीको टोलीले सोही विषयमा बुधबार बैंकका अध्यक्षहरुसँग पनि छलफल गर्ने भएको छ । अध्यक्षहरुसँगको छलफलमा बैंकहरुको आगामी रणनीति, बैंक वित्तीय संस्था सम्बन्धी ऐनको संशोधत विधेयक लगायतका विषयमा छलफल हुने केन्द्रीय बैंकले जनाएको छ ।

null