काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार नेपाली बीमकहरु सोल्भेन्ट रहेका छन् । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत जोखिममा आधारित बीमांकिय मूल्यांकन प्रतिवेदनका आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्ट भएको प्राधिकरणको दाबी छ ।
प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमकहरुको सोल्भेन्सी अनुपात तोकिएको १.३ को सीमा भन्दा माथि नै छन् । यसैगरी लघु जीवन बीमकहरुको पनि बीमांकिय मूल्यांकन प्रतिवेदनका आधारमा सोल्भेन्सी अनुपात तोकिएको १.५ को सीमा भन्दा माथि नै रहेको प्राधिकरणको तथ्यांक छ । जीवन बीमक तर्फ सोल्भेन्सी अनुपात सबैभन्दा बढी रिलायबल नेपाल लाइफको ३.६१ रहेको छ भने निर्जीवन बीमक तर्फ सिद्धार्थ प्रिमियरको ४.३२ रहेको छ । लघु जीवन बीमक तर्फ लिबर्टी माइक्रो लाइफको २.० रहेको छ ।
नेपाल बीमा प्राधिकरणले बीमकहरुको सोल्भेन्सी मार्जिन १.३ तोकेको छ । लघु बीमकको हकमा भने १.५ तोकिएको छ । नेपाली बीमकहरुले प्राधिकरणले तोके भन्दा बढी नै सोल्भेन्सी अनुपात कायम गरेको प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशिल देव सुवेदीले बताए । ‘अहिलेसम्म नेपाली बीमकहरुले प्राधिकरणले तोकेको भन्दा कम सोल्भेन्सी राखेका छैनन् । यसले नेपाली कम्पनीहरु सुरक्षित छन् भन्न सकिन्छ,’ उनले भने।
प्राधिकरणका पूर्व निर्देशक दिनेश लाल कर्णले भने प्राधिकरणले तोकेको सीमा भन्दा धेरै बढी सोल्भेन्सी अनुपात हुनु पनि राम्रो नहुने बताउँछन् । तोकिएको सीमा भन्दा धेरै सोल्भेन्सी अनुपात हुनुलाई कम्पनी स्थिर छ, चलायमान छैन्न भनेर बुझिने उनले बताए ।
कुन कम्पनीको कति छ सोल्भेन्सी अनुपात
बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवको जोखिम मूल्याङ्कनका आधारमा जीवन बीमकमध्ये नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी नेपाल र सानिमा रिलायन्सको सोल्भेन्सी अनुपात प्राधिकरणले तोकेको सीमा नजिक छ । नेशनल लाइफको सोल्भेन्सी अनुपात १.३४ छ भने नेपाल लाइफको १.४५ छ । यस्तै, एनआईसी नेपालको १.४६ र सानिमा रिलायन्सको १.३९ छ ।
प्रभु महालक्ष्मी, सूर्यज्योति लाइफ र मेट लाइफको सोल्भेन्सी अनुपात भने प्राधिकरणले तोकेको सीमा भन्दा केही माथि छ । प्रभु महालक्ष्मी लाइफको १.९६, सूर्यज्योति लाइफ २.४७ र मेट लाइफको २.७० छ ।
आइमएई लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफको सोल्भेन्सी अनुपात तोकिएको सीमा भन्दा धेरै नै माथि छ । आइएमई लाइफको ३.१४, रिलायबल ३.६१ र सिटिजन लाइफको ३.४२ छ ।
निर्जीवन बीमकमध्ये ओरियन्टल, शिखर, सानिमा, सगरमाथा र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी अनुपात प्राधिकरणले तोके भन्दा माथि छ । ओरियन्टल इन्स्योरेन्सको २.६६, शिखरको २.६९, सानिमा जीआइसी २.६३, सगरमाथा २.७६ र युनाइटेड अजोडको २.७३ छ ।
नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेन्ट्र र आइजीआईको सोल्भेन्सी मार्जिन प्राधिकरणले तोके भन्दा धेरै माथि छ । नेकोको ३.०६, एनएलजी इन्स्योरेन्सको ३.४२, हिमालयन एभरेष्ट्रको ३.१५ र आइजिआई प्रडुेन्सियल इन्स्योरेन्सको ३.७० छ ।
नेपाल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन प्राधिकरणले तोकेको सीमा भन्दा अत्याधिक धेरै छ । नेपाल इन्स्योरेन्सको ४.६१ र सिद्धार्थ प्रिमियरको ४.३२ छ । यसले कम्पनीको स्थिर भएको संकेत गर्छ ।
लघु जीवन बीमकमध्ये लिबर्टी माइक्रोको २.०, गार्डियन र क्रेष्ट माइक्रो लाइफको १.९७ छ।
गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा भने जीवन बीमकहरुको सोल्भेन्सी अनुपात औसत २.४७ थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा चालु आवमा तेस्रो त्रैमास अवधिमा सोल्भेन्सी अनुपात पनि वृद्धि भएको थियो । अघिल्लोआवको सोही अवधिमा जीवन बीमकहरुको सोल्भेन्सी अनुपात औसत २.३९ थियो ।
जीवन बीमकहरुले प्रकाशित गरेको गत आवको चैत्र महिनासम्मको वित्तीय विवरण अनुसार हिमालयन लाइफको सोल्भेन्सी अनुपात ३.८६ थियो । रिलायबल लाइफको ३.६४, सिटिजन लाइफ, ३.४२ थियो भने एशियन, मेटलाइफ, सन नेपाल र आइएमई लाइफको सोल्भेन्सी अनुपात २.० भन्दा बढी थियो । नेशनलको १.३४ र एलआइसी र नेपाल लाइफको १.४५ थियो ।
सोल्भेन्सी अनुपात भनेको के हो ?
बीमा कम्पनीको सोल्भेन्सी अनुपात भनेको कम्पनीको सम्पत्ति र दायित्व बीचको अनुपात हो । जसले कम्पनीको वित्तीय स्थिरता र जोखिम वहन क्षमताको मापन गर्दछ । यसको उद्देश्य भनेको कम्पनीले भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम हुने गरी पर्याप्त पूँजी राख्नु हो ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपातको नियमनका लागि विभिन्न निर्देशनहरू जारी गरेको छ । यसमा कम्पनीहरूले आफ्नो पूँजी संरचना, लगानी निती र जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई ध्यानमा राखेर सोल्भेन्सी अनुपात कायम राख्नुपर्ने व्यवस्था छ ।
सोल्भेन्सी अनुपात बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक भएको प्राधिकरणका सहायक निर्देशक एवम् चाटर्ड एकाउन्टेण्ट विरोध बाग्लेले बताए । यसको उच्च अनुपातले कम्पनीको जोखिम वहन क्षमता र दीर्घकालीन स्थिरताको संकेत गर्ने उनले बताए । ‘कम्पनीहरुले प्राधिकरणको निर्देशिका अनुसार सोल्भेन्सी मार्जिन कायम राख्नुपर्छ । जसले बीमित व्यक्तिहरूको हक र हितको संरक्षण गर्छ,’ उनले दाबी गरे ।
सोल्भेन्सी अनुपात १.० देखि १.३ भएको बीमकलाई सुरक्षित मानिन्छ । यस्तो कम्पनीमा जोखिम नभएको मानिन्छ । १.३ देखि १.५ अनुपातलाई हुनुलाई अझै राम्रो मानिन्छ । कम्पनीमा दायित्व भन्दा सम्पति धेरै भएको मानिन्छ । त्यसैले सोल्भेन्सी अनुपात १.३ भन्दा कम भएमा प्राधिकरणले निगरानीमा राख्छ । १.० भन्दा पनि कम भएमा प्राधिकरणले बीमकलाई नगद लाभांश वितरणमा रोक लगाउन र पूँजी बढाउन निर्देशन दिन सक्छ । कुनै बीमकको सञ्चालक समिति परिवर्तन गर्न लगाउन सक्छ । लगानी गर्न र नगद लाभांश वितरणमा रोक लगाउन सक्छ ।
यस्तै, सोल्भेन्सी अनुपात ०.४५ देखि ०.७० भएको कम्पनीलाई उच्च जोखिमपूर्ण भएको मानिन्छ । यस्तो अवस्थामा प्राधिरकणले कडा निर्देशन दिन सक्छ । यस्ता कम्पनीको प्राधिकरणले निश्चित व्यवसायमा रोक लगाउन सक्छ । सञ्चालक समिति परिवर्तन गराउन सक्छ ।
जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशन अनुसार कम्पनीहरुले आफ्नो जोखिम प्रोफाइल अनुसार पर्याप्त पूँजी कायम गर्नुपर्छ । सम्पत्ति र दायित्वको मूल्यांकन बजार मूल्य र सम्भावित भविष्य जोखिमका आधारमा गरिनु पर्छ । जोखिममा आधारित पूँजी प्रणालीमार्फत जीवन बीमा, साधारण बीमा, बजार जोखिम, क्रेडिट जोखिम, आपतकालीन जोखिम (जस्तै भूकम्प, बाढी, पहिरो) र सञ्चालन जोखिमका लागि आवश्यक पूँजी निर्धारण गर्नुपर्छ ।
निर्देशनले सोल्भेन्सी नियन्त्रण स्तरहरू पनि निर्धारण गरेको छ । जसअनुसार जोखिम बढेमा प्राधिकरणले कम्पनीमा सिधै हस्तक्षेप गर्न सक्छ । प्राधिकरणले कम्पनीको नयाँ व्यवसाय रोक्ने, पूँजी वृद्धि गर्न लगाउने वा व्यवस्थापन परिवर्तन गर्न लगाउन पनि सक्छ । साथै बीमकहरूले प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । जसमा लगानी, पुनर्बीमा, सञ्चालन जोखिम, तथा वातावरणीय र जलवायु सम्बन्धित जोखिमहरू पनि समावेश गर्नुपर्छ ।
मुना कुँवर