काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोप्पान) ले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)द्वारा प्रस्ताव गरिएको नयाँ इन्टरनेशनल सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईजिन) नियमावलीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले नेपालको नवीकरणीय ऊर्जा क्षेत्र र समग्र लगानी वातावरणलाई प्रतिकूल असर पार्ने चेतावनी दिएको छ ।
सीडीएससीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीका प्रमोटर शेयरहरूलाई अलग श्रेणीमा डिम्याट गर्दै दोस्रो बजार कारोबारमा रोक लगाउने प्रस्ताव अघि सारेको छ । सोप्पानका अनुसार यसले ऊर्जा तथा पूर्वाधारमा हालसम्म देखिएको लगानी उत्साहमा गम्भीर अवरोध ल्याउने सम्भावना छ ।
नेपालले सन् २०३५ सम्म २८,५०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । सोप्पानले प्रमोटर शेयरको तरलता रोकिँदा दीर्घकालीन र धैर्यवान पुँजीको अभाव हुने र जोखिमपूर्ण ऊर्जा परियोजनामा लगानी घट्ने चिन्ता व्यक्त गरेको छ ।
प्रस्तावित आईजिन नियमले विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लिन र सेयर कारोबार गर्न झन्झटिलो बनाउने भन्दै सोप्पानले विदेशी प्रत्यक्ष लगानीमा गिरावट आउने सम्भावनाबारे चेतावनी दिएको छ । यो नेपाल सरकारले व्यक्त गर्दै आएको लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता विपरीत हुने उल्लेख छ ।
सरकारले ‘दायाँ हातले के गरिरहेको छ, बाँया हातले नबुझेको’ भन्दै सोप्पानले लगानीकर्तामा भ्रम र अविश्वास फैलिएको बताएको छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक, सेबोन र सीडीएससीबीच समन्वय अभावले नीति असंगतता देखिएको भन्दै सुधारको माग पनि गरेको छ ।
यसैगरी पूर्वाधार र ऊर्जा क्षेत्र दीर्घकालीन पुँजीको भरमा अडिएको भन्दै सोप्पानले हालको प्रस्तावले ‘सुनको फुल पार्ने कुखुरा’ मर्ने जोखिम बढाउने बताएको छ । तत्कालका लागि देखिएको प्राविधिक कडाइले दीर्घकालीन प्रभाव पार्ने चेतावनी दिइएको छ ।
यसैगरी संसद्, अर्थ मन्त्रालय, राष्ट्र बैंक, सेबोन र सीडीएससीलाई यी प्रस्तावित नियमावली तत्काल पुनर्विचार गर्न आग्रह पनि गरेको छ । नियामकीय स्थिरता, पारदर्शिता र लगानीमैत्री वातावरणमार्फत मात्र नेपालले दिगो विकास, रोजगारी सृजना र जलवायु लक्ष्य हासिल गर्न सक्ने सोप्पानको भनाइ छ ।
आर्थिकन्यूज