भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ। बैठकमा पार्टीका सांसद, प्रमुख सचेतक र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा सातै प्रदेशमा सशक्त संगठन निर्माण गर्ने र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउने रणनीति तय गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनले बैठकमा संसदमा उठाइएका विषयहरू, भिजिट भिसाको दुरुपयोग हुँदै मानव बेचबिखन, मालपोत कार्यालयमा भइरहेको भ्रष्टाचारलगायतका विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।
नेताहरूले प्रवासी नेपालीलाई मताधिकारको सुनिश्चितता दिनुपर्ने विषयमा पनि जोड दिएका थिए। साथै, संसदमा बहुमतको आडमा सरकार जे पनि गर्न खोज्दा जनभावनाको अवमूल्यन हुने भन्दै सचेत गराइएको बताए ।
बैठकमा लुम्बिनी क्षेत्रका जनताले भोगिरहेको विकास अभाव र राज्यको बेवास्ताबारे पनि गम्भीर छलफल भएको जनाइएको छ। यस्ता समस्या समाधानका लागि संसदमार्फत दबाब सिर्जना गरिने र आवश्यक परे जनआन्दोलनको स्वरूप परिवर्तन गर्दै अगाडि बढ्ने निर्णय भएको जनाएका छन् । बैठकले जनताको हितका पक्षमा संसद र सडक दुवै माध्यम प्रयोग गर्ने रणनीति अनुरूप आगामी कार्यक्रम तय गर्ने जनाएको छ।
आर्थिकन्यूज