काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम वृद्धि गर्ने तयारी गरेको छ । मृतक श्रमिकका परिवारले पाउने रकम वृद्धि गरेपछि श्रमिकले भुक्तानी गर्ने रकम पनि पाँच सय रुपैयाँ बढाउने बोर्डले तयारी गरेको हो ।
बोर्डले गत कार्तिक देखि लागू हुने गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख रुपैयाँ वृद्धि गरी १० लाख रुपैयाँ पु¥याएको छ । त्यसअघि मृतक श्रमिकका परिवारले क्षतिपूर्ति बापत बोर्डबाट सात लाख रुपैयाँ पाउने व्यवस्था थियो ।
त्यतिबेला नै बोर्डले क्षतिपूर्ति रकम सहित श्रमिकले कोषमा जम्मा गर्नुपर्ने रकम पनि बढाउने तयारी गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्षतिपूर्ति रकम सहित कल्याणकारी कोषको रकम पनि वृद्धि गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीपरिषद्ले क्षतिपूर्ति रकम मात्रै वृद्धि गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । त्यसैले बोर्डले श्रमिकले कोषमा बुझाउनु पर्ने रकमका विषयमा अध्ययन गरी सुझाव दिन अर्को समिति निर्माण गरेको बोर्डका कार्यकारी निर्देशक डा.द्धारिका उप्रेतीले बताए । उनका अनुसार बोर्डको सञ्चालक समितिको बैठकले नै बोर्ड सदस्य तेजेन्द्र कार्कीले सदस्यतामा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सुझाव अनुसार श्रमिकले कोषमा जम्मा गर्नुपर्ने रकम वृद्धि गरिनेछ ।
हालको व्यवस्था अनुसार दुई वर्षसम्मको भिसा अवधि भएका श्रमिकले एक हजार ५०० रुपैयाँ कल्याणकारी कोषका रकम जम्मा गर्नुपर्नेछ भने सो अवधि भन्दा माथिको भिसा अवधि भएका श्रमिकले दुई हजार ५०० रुपैयाँ जम्मा गर्नुपर्नेछ । यसअघि नै बोर्डले श्रमिकले जम्मा गर्नुपर्ने रकम ५०० रूपैयाँले वृद्धि गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषदबाट पारित भने हुन सकेन । फेरी पनि बोर्डले सोही दरमा रकम वृद्धि गर्ने तयारी गरेको छ ।
पिडिओडी मोबाइल एप बनाउँदै बोर्ड
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार पूर्व प्रस्थान अभिमुखीकरण तालिम एप्लीकेशन निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले सहज प्रक्रियाबाट स्व अध्ययन गर्न मिल्ने गरी एप्लीकेशन बनाउने तयारी गरिएको बोर्डका कार्यकारी निर्देशक डा.उप्रेतीले बताए ।
एपबाट वैदेशिक रोजगारीमा जानु पूर्व थाहा पाउनु पर्ने विषय, रोजगारीमा हुँदा र रोजगारीबाट फर्केपछि श्रमिकले थाहा पाउनु पर्ने विषयका बारेमा जानकारी दिइनेछ । श्रमिकले वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानी, सचेतना र कानुनी प्रक्रियाको बारेमा एपबाट नै जानकारी दिइने उनले बताए ।
मोबाइल एपबाट श्रमिकले सहजै धेरै जानकारी लिन सक्ने बोर्डको ठम्याइछ । ‘मोबाइलमा नै जानकारी भयो भने श्रमिकले कुनै पनि समयमा खोलेर हेर्न सक्ने भए । आफूलाई समस्या पर्दा अब मैले के गर्ने भन्ने जानकारी पनि चाहेको बेलामा एप खोलेर हेर्न सक्नेछन्,’ उनले भने । श्रमिकले तालिम लिँदा नबुझेका वा प्रस्ट नभएका विषयमा मोबाइल एपबाट लिन सक्ने उनको दाबी छ ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जानु पूर्व अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ । दुई दिने तालिममा श्रमिकले गन्तव्य मुलुकको सँस्कृति, भाषा, कानुन लगायतका विषयमा जानकारी दिइन्छ । हालको व्यवस्था अनुसार यस्तो खालको तालिम दिनको लागि मन्त्रालयले तालिम केन्द्रको व्यवस्था गरेको छ । बोर्डमा दर्ता भएका तालिम केन्द्रले मात्रै अभिमुखीकरण तालिम दिन सक्नेछन् ।
अभिमुखीकरण तालिम दिनका लागि ६ वटा क्लस्टर बनाइएको छ । गल्फ, मिडललिष्ट, इजरायल, जापान कोरिया, युरोप र अन्यमा विभाजन गरिएको छ । बोर्डले मोबाइल एपका लागि यिनै ६ वटा क्लस्टरसँग सम्बन्धित ५०० वटा प्रश्नावली तयार पारेको बोर्डले जनाएको छ ।
आफनै शव एम्बुलेन्स खरिद गर्ने बोर्ड
वैदेशिक रोजगार बोर्डले आफ्नै शव वाहन खरिद गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को कार्य योजना सार्वजनिक गर्दै बोर्डका कार्यकारी निर्देशक डा.उप्रेतीले बोर्डले बोर्डले दुई वटा शव वाहन खरिद गर्न लागेको बताए ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यू भएका श्रमिकको शव श्रमिकको घरसम्म ढुवानी गर्ने सुविधा दिएको छ । हालको व्यवस्था अनुसार बोर्डले टेण्डरबाट शव ढुवानी गर्ने कम्पनी छनौट गर्दै आएको छ । ढुवानी सेवा निःशुल्क भएपनि ढुवानी गर्ने गाडीका चालकले श्रमिकका परिवारबाट थप रकम असुल्ने गरेको गुनासो आउने गरेको बोर्डले जनाएको छ । त्यसैले काठमाडौंमा नै दाहसंस्कार गर्ने शव ढुवानीका लागि बोर्डले दुई वटा विद्युतीय वाहन खरिद गर्न लागेको उनले बताए । ‘पशुपतिमा दाहसंस्कार गर्ने शवलाई बोर्डकै शव वाहनले सुविधा दिनेछन् । लामो गन्तव्यका लागि टेण्डरबाट कम्पनी छनौट गरिनेछ,’ उनले भने ।
आगामी वर्षको लागि बोर्डले दुई अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ । जसमध्ये कल्याण, पुन ः स्थापना, राहत तथा आर्थिक सहायता वितरण सम्बन्धी कार्यका लागि एक अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । अलपत्र कामदारको कल्याण, उद्धार तथा राहतका लागि ६ करोड ५ लाख, वैदेशिक रोजगारीमा गएका परिवारका हितमा गरिने कार्यक्रमका लागि दुई करोड ८६ लाख, प्रशिक्षण, अध्ययन, अनुसन्धान तथा सीप विकास तालिम सम्बन्धी कार्यका लागि ३१ करोड ५० लाख रुपैयाँ विनियोजन, सूचना तथा सञ्चार, समन्वय, सहजीकरण र सहयोगका लागि नौ करोड ४७ लाख, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने कार्यका लागि एक करोड ६९ लाख, कन्सुलर सेवा सहयोग कार्यक्रमका लागि आठ करोड ७८ लाख, कार्यालय सञ्चालन र व्यवस्थापकीय खर्चका लागि तीन करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आगामी वर्ष बोर्डले संघीय तथा प्रदेश सांसदसँग वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्ने सेवाहरुका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
मुना कुँवर