काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–५ मा २४.९२१ मेगावाटको इन्दुवा खोला आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । जसका लागि भिजन टेस्ला पावर प्रालिले आयोजना निर्माण गर्न उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
संखुवासभाको मकालु गाउँपालिका-५ भएर बग्ने इन्दुवा खोलाको पानी सदुपयोग गर्ने गरी कम्पनीले २४.९२१ मेगावाटको नदि प्रवाहमा आधारित अर्धजलासयुक्त आयोजना निमार्ण गर्न लागेको हो । कम्पनीले सो आयोजना निर्माण सुरु गरेको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यस आयोजनाबाट वार्षिक सरदर १४६.६०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। आयोजनाले उत्पादन गर्ने बिजुली ९ किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनबाट इसुवा खोला क्यास्केड जलविद्युत् आयोजनाको स्विचयार्डमा लगेर त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जनाइएको छ ।
आयोजनालाई आवश्यक पर्ने पानी लिनका लागि इन्दुवा खोलामा १८ मिटर लम्बाईको ’फ्रि ओभरफ्लो ग्राभिटी वेर’ प्रविधिको बाँध निर्माण गरिने छ । आयोजनाले स्थानीय सिमली खोला र चिमचिमे खोलाको पानीसमेत डाइभर्सन गरी प्रयोग गर्ने छ ।
आयोजनाको ३ हजार ३०० मिटर लामो हेडरेस पाइप, ३ हजार ५ सय मिटर हेडरेस टनेल निर्माण गरिने छ । त्यहाँबाट आउने पानीलाई १ हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत सतहमा निर्माण गरिने विद्युत्गृहमा लगी बिजुली उत्पादन गर्ने योजना बनाएको छ । त्यस्तै, १ लाख २९१ घनमिटर क्षमताको ७ मिटर गहिरो पिकिङ पोखरीसमेत आयोजनाले निर्माण गर्ने छ ।
आयोजना निमार्णका लागि प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको छ । आयोजनाको निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पर्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले सूचना जारी गरेको छ ।

आर्थिकन्यूज