काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरूको विकासलाई प्रोत्साहन गर्नका लागि 'नियामक स्यान्डबक्स' सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ। यो भर्खरै गरिएको पहलले नेपालको वित्तीय क्षेत्रलाई थप आधुनिक, समावेशी र प्रविधियुक्त बनाउने अपेक्षा गरिएको छ।
के हो नियामक स्यान्डबक्स?
नियामक स्यान्डबक्स एक नियन्त्रित परीक्षण वातावरण हो, जहाँ नियामक निकायको प्रत्यक्ष निगरानीमा नयाँ वित्तीय उत्पादन, सेवा वा व्यावसायिक मोडेलहरूलाई सीमित समय र दायराभित्र परीक्षण गर्न अनुमति दिइन्छ। यसले फिनटेक कम्पनी, बैंक तथा वित्तीय संस्था र अन्य नवप्रवर्तकहरूलाई नयाँ प्रविधिको सम्भाव्यता र जोखिमको मूल्यांकन गर्न मद्दत गर्छ। यसरी परीक्षण सफल भएपछि मात्र ती उत्पादनहरूलाई आम सर्वसाधारणका लागि बजारमा ल्याइन्छ।
मस्यौदाका मुख्य बुँदाहरू:
-
नवप्रवर्तनको प्रोत्साहन: नवीन प्रविधि जस्तै ब्लकचेन, कृतिम वौद्धिकता इत्यादीमा आधारित वित्तीय सेवा तथा उत्पादनलाई बढावा दिने।
-
जोखिम व्यवस्थापन: नयाँ वित्तीय उत्पादन वा सेवाहरूको बजारमा आउनु अघि नै सम्भावित जोखिमहरू (जस्तै: साइबर सुरक्षा, उपभोक्ता संरक्षण, र वित्तीय स्थिरता) पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने ।
-
वित्तीय समावेशिता: यसले नेपालमा बैंकिङ पहुँचबाट पूर्ण वा आंशिक रुपमा विमुख भएका वर्ग/ समुदायलाई सेवा पुर्याउने तर्फ लक्षित नवीनतम उपायहरूको परीक्षणलाई प्राथमिकता दिने ।
-
सहकार्यको वातावरण: नियामक निकाय, नवप्रवर्तक र वित्तीय संस्थाहरूबीच सहकार्यको वातावरण सिर्जना गरी वित्तीय क्षेत्रको विकासमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्ने ।
नेपाल राष्ट्र बैंकले तयार पारेको यो मस्यौदाले सरोकारवालाहरूको सुझाव र प्रतिक्रिया प्राप्त गरेपछि अन्तिम रूप पाउनेछ। यो कार्यान्वयनमा आएपछि नेपालमा डिजिटल भुक्तानी प्रणाली, बीमा, लगानी र अन्य वित्तीय सेवाहरूमा उल्लेखनीय परिवर्तन आउने विश्वास गरिएको छ। यो पहलले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताँउछन् ।
आर्थिकन्यूज