शीर्षकहरू

शाखा स्थापना गर्न विदेशी पुनर्बीमा दलालले अटेर गरेपछि प्राधिकरणले थप्याे अवधि

शाखा स्थापना गर्न विदेशी पुनर्बीमा दलालले अटेर गरेपछि प्राधिकरणले थप्याे अवधि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीहरुलाई नेपालमा शाखा स्थापना गर्ने अवधि थप गरिदिएको छ । प्राधिकरणले पुनर्बीमा निर्देशिका २०८० लाई पहिलो संसोधन गर्दै शाखा स्थापनाको अवधि थप गरिदिएको हो ।

विदेशी पुनर्बीमा दलालले सूचिकृत भएको ६ महिनाभित्र नेपालमा शाखा स्थापना गर्नुपर्ने व्यवस्था थियो । सोही अनुसार प्राधिकरणले पटक पटक ताकेता गर्दापनि उनीहरुले शाखा स्थापना गर्न अटेरी गर्दै आएका थिए । सोही अनुसार प्राधिकरणले यस पटक भने निर्देशिका संसोधन गरेर नै समय अवधि थप गरिदिएको हो ।

यसँसगै अब विदेशी पुनर्बीमा दलालले २०८२ पौष मसान्तसम्म शाखा स्थापनाका लागि समय पाएका छन् । उक्त समयसम्म स्थापना गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणको निर्देशन अनुसार कम्पनीहरूले गत असार मसान्तसम्म भित्रमा नेपालमा कार्यालय स्थापना गरिसक्नु पर्ने थियो । तर, सो अवधिसम्ममा कुनै पनि विदेशी पुनर्बीमा दलाल कम्पनी नेपालमा कार्यालय स्थापना नगरेपछि समय अवथि थप्न प्राधिकरण बाध्य भएको हो । 

प्राधिकरणले असारको अन्तिममा १० दिनको अवधि दिएर दलाल कम्पनीहरूलाई पत्राचार गरेको थियो । सो अवधिमा केही कम्पनीहरूले इमेलको प्रतिक्रिया दिएको प्राधिकरणको पुनर्बीमा शाखाले जनाएको छ । प्राधिकरणमा हालसम्म ५४ वटा दलाल कम्पनी सूचीकृत भएका छन्  । सूचीकृत भएका कम्पनीमध्ये अन्तिम समयमा चार वटा कम्पनीले मात्रै चासो देखाएका थिए । 

निर्देशिका अनुसार विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल प्राधिकरणमा सूचीकृत हुनुपर्नेछ । सूचीकृत हुन विदेशी पुनर्बीमकले सम्बन्धित देशको नियमनकारी निकायबाट प्राप्त पुनर्बीमकको इजाजतपत्र र सो इजाजतपत्र बहाल रहेको प्रमाण, इजाजतपत्र नम्बर स्थापना मिति प्राधिकरणमा पेश गर्नुपर्नेछ । यस्तै, इजाजतपत्र दिने निकायको नाम, अद्यावधिक वित्तीय विवरण, बीमकसँग कारोबार हुने पोर्टफोलियो, कम्पनीको नाम, ठेगाना, स्थापना वर्ष, सम्पर्क नम्बर इमेल, सम्पर्क व्यक्तिको नाम, ठेगाना, इमेल र सम्पर्क नम्बर, सूचीकरण गर्न बीमकको आफनै कर्मचारी वा कुनै प्रतिनिधि वा स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा, रेटिङ एजेन्सीको नाम, रेटिङ प्राप्त गरेको मिति र रेटिङको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । 

विदेशी पुनर्बीमकले प्रत्येक वर्ष सूचीकरण नम्बरलाई प्राधिकरणबाट नवीकरण गराउनु पर्नेछ । प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्न गर्ने पुनर्बीमा दलालले त्यस्तो सूचीकरण नम्बर प्राप्त गरेको ६ महिना भित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना रहेको थियो, अब पौष मसान्तसम्म स्थापना गर्नुपर्ने छ । स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा दलालले सूचीकृत विदेशी पुनर्बीमक र पुनर्बीमा दलालसँग कारोबार गर्नुपर्नेछ । सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलालको सूची प्राधिकरणले आफनो वेवसाइट मार्फत सार्वजनिक गर्नेछ । 

नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले तोकिएको पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्नेछन् । यसरी स्थापित पुनर्बीमा दलालको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकृतको अलावा आवश्यकता अनुसार १ जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिने छ । अन्य कर्मचारीहरूको हकमा नेपाली नागरिक नियुक्त गर्नुपर्नेछ ।