काठमाडौं । कर्णाली विकास बैंकबाट ३ अर्ब बढी नगद अपचलन भएको खुलेको छ । उक्त विकास बैंकको घोटलाबारे केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धान अनुसार ३ अर्ब ३८ करोड रुपैयाँ नगद अपचलन भएको छ ।
अन्य बैंकहरुबाट नगद ल्याई बैंकको सिष्टममा समेत नचढाई अपचलन भएको रकम र चेक तथा भौचरका प्रतिलिपीहरुबाट विभिन्न १७ व्यक्तिहरु चेक तथा भौचरको कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलासा भएको जनाइएको छ । जसबाट १ अर्ब ११ करोड ९१ लख रुपैयाँ अपचलन भएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकबाट अन्य बैंकहरुमा लैजाने भनी विभिन्न बैंकमा १५ करोड ३० लाख रूपैयाँ उल्लेख गरेको तर अन्य बैंकहरुमा जम्मा नभएको अनुसन्धानमा देखिकाे छ । रेमिट कारोबारको क्रममा नगद रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गराई १ करोड ७८ लाख रूपैयाँ अपचलन भएको छ ।
गोल्ड लोन शिर्षकमा कर्जा प्रवाह गरेको देखाएर ४ करोड ४३ लाख रुपैयाँ अपचलन भएको छ भने तलब बृद्धिको नाममा ९ लाख रुपैयाँ अपचलन भएको छ । कर्मचारी तथा शेयर होल्डरको नाममा बीमा गराई १ करोड ९६ लाख, सञ्चालक तथा संस्थापक शेयर सदस्यहरुले हकप्रद शेयर लिनको लागि ५ करोड ८५ लाख रुपैयाँ अपचलन गरिएको छ ।
यसैगरी, विज्ञापनको शिर्षकमा १८ लाख रुपैयाँ, नेपाल राष्ट्र बैंकले निक्षेप संकलनमा रोक लगाएपश्चात निक्षेप संकलन गरि १४ करोड ५९ लाख रुपैयाँ अपचलन भएको छ । नेपाल राष्ट्र बैंकले २०८१ मंसिर ११ गते थप निक्षेप संकलन गर्न,नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो । त्यसपछि पनि सो बैंकले निक्षेप संकलन गरि उक्त रकम बराबर अपचलन गरेको छ ।
लोन मार्फत १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अपचलन भएको छ । सो बैंकका कर्मचारीहरुले आफु नजिकको विभिन्न व्यक्तिहरु नाममा कम्पनीहरु खडा गरी सोही कम्पनीहरुलाई कर्जा वापत रकम प्रवाह गरी अपचलन गरेको पाइएको छ । यसैगरी, बैंकबाट नगद अपचलन गरी गराई सोही रकम प्रयोग गरी जग्गा जमीन खरीद गर्ने सोही जग्गा जमीनलाई आफु निकट मानिसहरुको नाममा ट्रान्सफर गरी गराई सोही जग्गा यस बैंकमा धितो राखी धितोको उच्च मूल्याङ्कन गर्न लगाई गरी पुन: बैंकबाट रकम निकालेको सीआईबीले अनुसन्धानबाट फेला पारेको जनाएको छ ।
र अन्य विभिन्न शिर्षकमा पनि करोडौँ नगद अपचलन भएको जनाइएको छ।
आर्थिकन्यूज