उमेश भट्ट
गत साता साउदी अरबको राजधानी रियादको बथाहा क्षेत्रमा एक नेपाली रेस्टुरेन्टको भव्य उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रममा साउदी अरबस्थित नेपाली दूतावासका माननीय राजदूत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँसँगै दूतावासका अन्य कर्मचारी, नेपाली प्रतिष्ठित व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र अन्य नेपाली समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति थियो ।
उद्घाटन समारोह निकै आकर्षक थियो । रिबन काट्ने, भाषण गर्ने र फोटो खिच्ने कार्यहरू भव्य रूपमा सम्पन्न भए । सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण गरिएको सो समारोहको वातावरण उत्सवमय थियो । रेष्टुरेन्टको उद्घाटन गर्दै अतिथीहरुले मीठो भाषण गरे । साउदीमा नेपालीले सञ्चालन गरेको व्यवसायको प्रशंसा गर्दै सफलताको कामना पनि गरे ।
उद्घाटनमा उपस्थित सबै लब्ध प्रतिष्ठित व्यक्तिहरू एक आपसमा शालीन र भद्र तरिकाले कुराकानी गर्दै थिए । उनीहरूबीच आत्मीयता झल्किने सौहार्दपूर्ण सम्वाद चलिरहेको थियो । एकअर्कासँग देशको चिन्ता व्यक्त गर्दै, प्रवासी नेपाली समुदायका समस्या, अवसर र भविष्यका सम्भावनाहरूका बारेमा विचार–विमर्श गरिरहेका थिए । देशमा भइरहेको राजनीतिक अस्थिरता, बेरोजगारी, र सामाजिक असमानता जस्ता विषयहरू पनि कुराकानीको केन्द्रमा थियो । कतिपयले वैदेशिक रोजगारीबाट आर्जन गरिएको रेमिटेन्सलाई दिगो आर्थिक विकासमा लगानी गर्न सकिने विषयमा चर्चा गर्दै थिए । कोही सरकारले प्रवासी नेपालीको हकहितका लागि प्रभावकारी नीतिगत सुधार गर्नुपर्ने तर्क राख्दै थिए । उनीहरूका अनुहारमा गम्भीरता पनि थियो । साथसाथै केही सकारात्मक पहल गर्ने आशा र चाहना पनि देखिन्थ्यो ।
तर, यति भव्य उत्सव भइरहँदा सोही भवनको माथिल्लो तलामा केही नेपाली श्रमिकहरू रोगले थलिएका, निराश, र एक किसिमको बन्दी अवस्थामा दिन गुजारिरहेका थिए । उनीहरू नेपालबाट आकर्षक रोजगारीको सपना बोकेर साउदी आएका थिए । तर वास्तविकता त्यो सपना भन्दा धेरै फरक र पीडादायी भएको थियो । कोही रोजगार विहीन, कोही कागजात विहीन, कोही मानसिक समस्याले ग्रस्त, त कोही शारीरिक रूपमा गम्भीर अवस्थासम्म पुगेका थिए ।
उनीहरूमा आशा छैन—छ केवल मौन प्रश्न ‘हाम्रो उद्धार कहिले हुन्छ ?’
यो पीडादायी दृश्य एउटै छानामुनि दुई फरक संसारको प्रतिनिधित्व हो । तल चमकधमक, भाषण र भोज—माथि आँसु, मौनता र छटपटी । नेपाली प्रवासी समुदायको यथार्थ यो भन्दा बढी द्वन्द्वात्मक हुन सक्दैन ।
साउदी अरबमा हाल लाखौं नेपाली श्रमिक कार्यरत छन् । उनीहरू प्रायः निर्माण, सरसफाई, सुरक्षा, र घरेलु श्रमिक जस्ता कठिन र जोखिमपूर्ण क्षेत्रमा काम गर्छन् । धेरै नेपालीले इमानदारीपूर्वक श्रम गरेर आफ्नो परिवारको जिविका चलाइरहेका छन् । तर, केही श्रमिकहरू दलाल, एजेण्ट, र शोषणकारी रोजगारदाताको फन्दामा परी नारकीय जीवन बिताइरहेका छन् ।
साउदीमा अझै कफाला प्रणाली छ । जसका कारण कतिपय श्रमिकहरुको पासपोर्ट जबरजस्ती लिइन्छ, स्वतन्त्रता खोसिन्छ, काम परिवर्तन गर्न कानुनी अवरोधहरू पार गर्नुपर्छ । रोजगारी गुमेपछि वा बिरामी भएपछि उनीहरू तुरुन्तै अवैध श्रमिक ठहरिन्छन् र आप्रवासी जेलमा पुग्छन् । कतिपय अस्पताल पुग्न नसक्ने अवस्था छन्, किनभने साउदीमा आप्रवासीका लागि उपचार प्रणाली महँगो छ र बीमा कागजात पनि अव्यवस्थित हुन्छ ।
यस्ता संकटमा परेका नेपालीहरू जब आफ्नो दूतावास वा समाजतिर फर्किन्छन्, तब उनीहरू अझै पिडा महसुस गर्छन् । समस्यामा परेका नेपाली श्रमिकको तत्काल राहत, उद्धार वा वैकल्पिक व्यवस्था छैन । दूतावास वा सरोकारवाला निकायहरूसँग प्रभावकारी संयन्त्र छैन ।
धेरै नेपालीहरू रियादका ठूला भवनको कोठा वा बन्द कोठामा रोगी र निराश अवस्थामै जीवन बिताइरहेका छन् । तीमध्ये केहीले वर्षौदेखि घर सम्पर्क गर्न पाएका छैनन् ।
समस्या व्यवस्थापनको कमजोरी मात्रै होइन, यो नेतृत्वमा संवेदनशीलताको अभाव पनि हो । नेतृत्व भनेको रिबन काट्नु, स्टेजमा उभिएर भाषण गर्नु वा फोटो खिचाउनु मात्र होइन । नेतृत्व भनेको संकटमा परेका नागरिकको छेउमा उभिन सक्ने साहस र जिम्मेवारी हो ।
प्रवासी श्रमिकको पीडा केवल तिनको व्यक्तिगत समस्या होइन । प्रवासमा केवल उद्घाटन र भोजले होइन, संकटमा परेका नेपालीलाई दिएको साथले नेपालीको वास्तविक क्षमताको सम्मान र मापन हुन्छ ।
अत, उक्त उद्घाटन कार्यक्रमले एउटै भवनभित्र रहेका दुई यथार्थ देखाएको छ । तल उत्सव, माथि आँसु । त्यो दृश्यले हामी सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाउँछ । के हामी साँच्चै आफ्ना नागरिकप्रति उत्तरदायी छौ त ?
यदि उत्तरदायित्वमा विश्वास गर्छौं भने, अब हामीले आँखामा चमक मात्रै होइन, छातीमा संवेदना बोकेर अघि बढ्नुपर्ने समय आएको छ ।
(लेखक परिचयः भट्ट साउदीको रियादमा कार्यरत नेपाली सामाजिक अभियन्ता हुन्। उनी रास्वपा साउदी, रियाद शाखाका सचिव हुन् र नेपाली श्रमिकका हकहित तथा अधिकारका पक्षमा लामो समयदेखि सक्रिय छन्।)
आर्थिकन्यूज