शीर्षकहरू

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं ।  अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ ।  नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) बन्ने अपेक्षा गरिएको छ। यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् ।

एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिदै आएको कम्पनीले जनाएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै, सोमबारबाट लागु हुनेगरी भारत जाने ग्राहकहरूका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो । 

भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिईरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ । 

एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल, र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ ।

इनबाउन्ड भोल्टे रोमिङका लागि, एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम)का ग्राहकहरूलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ । एनसेलले ग्राहकहरूलाई देश बाहिर जहाँ गएपनि उनीहरुका परिवारजन, साथीभाइ र व्यवसायसँग सधैं कनेन्टेड रहन विश्वव्यापी रोमिङ नेटवर्क विस्तार गर्दै आईरहेको छ ।