शीर्षकहरू

इन्द्रबहादुर बानिया बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

इन्द्रबहादुर बानिया बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

 काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन  । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका युवा नेता तथा व्यवसायी बानियाँ मुख्यमन्त्रीका नियुक्त हुने भएका हुन्  ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका थिए ।

प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको आज दिउँसो २ बजेको समयपछि बानियालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले आजै दिउँसो ४ बजे बानियाको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

यसभन्दा पहिलाका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

बानियाले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।