शीर्षकहरू

एकै वर्षमा १९ अर्ब भन्दा बढी बिगोको १३ हजार ६६१ बैंकिङ कसुरका मुद्दा दर्ता, तीन हजार भन्दा बढी पक्राउ

एकै वर्षमा १९ अर्ब भन्दा बढी बिगोको १३ हजार ६६१ बैंकिङ कसुरका मुद्दा दर्ता, तीन हजार भन्दा बढी पक्राउ

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ बैंकिङ कसुर सम्बन्धी १३ हजार ६६१ मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १९ अर्ब २७ करोड रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दा दर्ता भएको छ । प्रहरीले गत आवमा बैंकिङ कसुरमा संलग्न नेपाली र विदेशी सहित तीन हजार १३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी कार्यालयमा बैंकिङ कसुर सम्बन्धी परेको मुद्दामध्ये ९९ प्रतिशत मुद्दा चेक वाउन्स छन्। प्रहरीको तथ्यांक अनुसार गत आवमा चेक वाउन्स कसुरमा सबैभन्दा धेरै १३ हजार ६४८ मुद्दा दर्ता भएका छन् । १७ अर्ब ५९ करोड रुपैयाँ बिगो बराबरको चेक वाउन्सको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । चेक वाउन्स कसुरमा प्रहरीले दुई हजार ४६५ नेपाली पुरुष र ५४५ नेपाली महिला पक्राउ गरेको छ । यस्तै ८२ विदेशी पुरुष र ३७ महिला पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा २ वटा मुद्दा दर्ता भएको छ । जसको बिगो एक अर्ब ३६ करोड रुपैयाँ छ । अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने सम्बन्धी मुद्दामा ७८ लाख रुपैयाँ बिगो रहेको छ । यस्तो कसुर सम्बन्धी एउटै मात्रै मुद्दा दर्ता भएको छ ।

विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने ८५ हजार रुपैयाँ बिगो रहेको छ । यस्तो कसुरमा प्रहरीमा तीन वटा मुद्दा दर्ता भएको छ । प्रहरीले एक जना नेपाली पुरुषलाई पक्राउ गरेको छ ।

अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने कसुरमा पनि प्रहरी एक जना नेपाली पुरुषलाई पक्राउ गरेको छ । यस्तो कसुरमा प्रहरीमा एउटा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार २७ करोड ५० लाख रुपैयाँ बिगो रहेको छ ।

कागजात वा खाता बही सञ्चाई किर्ते वा जालसाजी गरी हानी नोक्सानी पुराएको कसुरमा प्रहरीले दुई जना नेपाली पुरुषलाई पक्राउ गरेको छ । यस्तो केसमा दुई करोड ३५ लाख रुपैयाँ कसुर भएको छ । प्रहरीमा दुई वटा मुद्दा दर्ता भएको थियो । 

गैर कानूनी रुपमा बैकिङ कारोबार गर्न नहुने कसुरमा प्रहरीमा चार वटा मुद्दा दर्ता भएको थियो । ७७ लाख ८१ हजार रुपैयाँ बराबरको कसुर भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८०-८१ म भने बैंकिङ कसुर सम्बन्धी प्रहरीमा १३ हजार २४६ वटा मुद्दा दर्ता भएको थियो । १५ अर्ब ८० करोड रुपैयाँ बिगो बराबरको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । यस्तो कसुरमा प्रहरीले तीन हजार ४०० नेपाली र विदेशी नागरिक पक्राउ गरेको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गरेमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र तीन महिनासम्मको कैद हुन सक्ने व्यवस्था छ । ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोकेमा बिगो भराई बिगो बमोजिमको जरिवाना हुनेछ । 

चेक वाउन्स भएको प्रमाणित भएमा चेक जारी गरी दिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम तथा सो रकममा चेक जारी गरेको मिति देखि रकम भराएको मितिसम्म कानून बमोजिमको ब्याज समेत भराई चेक जारी गरी दिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना हुनेछ । 

१५ लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद हुनेछ । १५ लाख देखी बढी ५० लाख रुपैयाँसम्म बिगो भए एक महिना देखि तीन महिनासम्म कैद हुनेछ । ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन महिना देखि एक वर्षसम्म कैद हुनेछ । १० करोड रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्ष देखि चार वर्षसम्म कैद हुनेछ । 

अनधिकृत रुपमा रकम निकाल्न भुक्तानी दिएमा, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिए वा दिएमा, अख्तियारी वा स्वीकृत सीमाभन्दा बढी कर्जा दिएमा, बैंकका कर्मचारीले नियम विपरीत कर्जा सापटी लिएमा, कर्जाको दुरुपयोग गरेमा लगायतका कसुर गरेमा १० लाख रुपैयासम्म बिगो भए एक  वर्षसम्म कैद हुनेछ । १० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म बिगो भए दुई वर्ष देखि तीन वर्षसम्म कैद हुनेछ । ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगा भए तीन वर्ष देखि चार वर्षसम्म कैद हुनेछ । एक करोड रुपैयाँभन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद हुनेछ । १० करोड रुपैयाँ भन्दा बढी ५० करोड रुपैयाँसम्म बिगो भए ६ वर्ष देखि आठ वर्षसम्म कैद हुनेछ । ५० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए आठ वर्ष देखि १० वर्षसम्म र एक अर्ब रुपैयाँ भन्दा बढी जतिसुकै बिगो भए पनि १० वर्ष देखि १२ वर्षसम्म कैद हुनेछ । 

कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ । त्यसरी जाहेरी परेको मितिले ६ महिना भित्र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अदालत समक्ष मुद्दा दायर गरि सक्नुपर्नेछ ।