शीर्षकहरू

साउन लागेपछि २ खर्ब २७ अर्ब तरलता प्रशोचन, आज थप ४० अर्ब तान्दै केन्द्रीय बैंक

साउन लागेपछि २ खर्ब २७ अर्ब तरलता प्रशोचन, आज थप ४० अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । चालु आर्थिक वर्षको पहिलो १८ दिनमा नै नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट २ खर्ब २७ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।

केन्द्रीय बैंकले आज फेरि थप ४० अर्ब रुपैयाँ  तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले ३५ दिने निक्षेप संकलन गर्न लागेको हो। केन्द्रीय बैंकले साउन लागेपछि छठौं पटक तरलता प्रशोचन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ २५ गते हुनेछ ।

केन्द्रीय बैंकले  साउन लागेपछि पाँचौ पटक तरलता प्रशोचन गरिसकेको छ । यसअघि गत साउन ४ गते ५० अर्ब तथा साउन ७ गते ७८ अर्ब २५ करोड, साउन ११ गते ४१ अर्ब १० करोड, साउन १४ गते ७ अर्ब ६५ करोड तथा साउन १८ गते ५० अर्ब तरलता प्रशोचन गरिसकेको छ । साउन महिना लागेपछि मात्रै २ खर्ब २७ अर्ब निक्षेप संकलन उपरकण मार्फत तरलता खिचिसकेको छ ।

यस अवधिमा केन्द्रीय बैंकले २ खर्ब ५५ अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गर्न चाहेकोमा बैंकहरुले २ खर्ब ७६ अर्ब ३० करोड राख्न चाहेका थिए । तर केन्द्रीय बैंकले मापदण्ड पुगेको २ खर्ब २७ अर्ब मात्र लिएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत नभई स्थाई निक्षेप सुविधा एडिएफ मार्फत पनि नियमित तरलता प्रशोचन गर्दै आएको छ ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ ।