काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।
जलस्रोत तथा सिँचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताए । “जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ,”–उनले भने ।
उर्जामन्त्री खड्काले वर्षैपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दै गर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठूलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्ने गरी लाग्नुपर्ने बताए ।
उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाई सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाई सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाई हुने बताए ।
कम्तीमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुयाउनेगरी काम गर्नुपर्ने उनको भनाई थियो । उनले जिम्मेवारमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिंचाई सुविधा पु¥याउने उदेश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/०८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको जानकारी दिए ।
आव २०८१/०८२ मा जलस्रोत तथा सिंचाई क्षेत्रमा ३३ अर्ब पाँच करोड वजेट विनियोजन भएकोमा २६ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।
यस्तै, विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा र ८२.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिँचाई सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
आर्थिकन्यूज