हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आफूले पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । उक्त रकमले आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाले आफूले प्राप्त गर्ने तलव भत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर २(ख) का अति विपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका थिए ।
त्यस्तै, बानिया नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सिमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रावृति प्रदान गर्ने निर्णय गरेको हो ।
जेहेन्दार र विपन्नमध्ये छनौट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरीनरी डाक्टर २ जना साथै १० जनालाई नर्सलाई पूर्ण छात्रवृत्ति दिने निर्णय भएको छ ।
त्यस्तै मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभित्र रहेका अति गरिब र सिमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगको लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।
आर्थिकन्यूज