शीर्षकहरू

पाँच वर्षमा एक अर्ब ८४ करोडको अनलाइन ठगी, २१४५ जना पक्राउ

पाँच वर्षमा एक अर्ब ८४ करोडको अनलाइन ठगी, २१४५ जना पक्राउ

काठमाडौं । विगत पाँच वर्षको अवधिमा अनलाइन माध्यमबाट ठगीएको भन्दै एक हजार ४५ जनाले नेपाल प्रहरीमा मुद्धा दर्ता गरेका छन् । यो अवधिमा अनलाइनबाट अनुमानित एक अर्ब ८४ करोड रुपैयाँ ठगी भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अनलाइनबाट ठगिनेको संख्या गत आर्थिक वर्ष २०८१/८२ ह्वातै बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आवमा अनलाइनबाट ठगिए भन्दै ६७५ जनाले प्रहरीमा मुद्धा दर्ता गरेका छन् । जबकी आव २०८०/८१ मा १६६ वटा मुद्धा दर्ता भएको थियो । आव २०७९/८० मा ७५ वटा, आव २०७८/७९ मा ६९ वटा, आव २०७७/७८ मा ६० वटा अनलाइन ठगीको मुद्धा दर्ता भएको प्रहरीको तथ्यांक छ । 

पछिल्लो समयमा अनलाइन कारोबार गर्नेको संख्या बढेसँगै ठगी हुने संख्या पनि बढेको छ । प्रहरीका अनुसार सामाजिक सञ्जाल, अनलाइन बैकिङग, अनलाइन सपिङ, अनलाइ पेमेन्ट (इसेवा, फोनपे लगायत), चिठ्ठा, पहिचान चोरी, स्पाम (इमेल/मेसेज मार्फत हुने ठगी), स्क्याम, स्पाइवेयर, फिसिङ र अन्य तवरबाट नेपालीहरु ठगिने गरेका छन् । 

प्रहरीका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत ठगिने क्रम बढेको छ । गत आवमा सामाजिक सञ्जालबाट ठगिएको भन्दै १५९ जनाले प्रहरीमा मुद्धा दर्ता गराएका थिए । अनलाइन सपिङबाट ठगिएको भन्दै १३७ जनाले मुद्धा दर्ता गराएका थिए भने अनलाइन बैकिङमा पनि ९२ जनाले ठगिएको भन्दै उजुरी दिएका थिए । 

अघिल्लो आवमा भने अनलाइनबाट ठगिने प्रवृति भिन्न थियो । प्रहरीको तथ्यांक अनुसार अघिल्लो आवमा भने अनलाइन सपिङ र स्क्याममा परेको भन्दै मुद्धा दर्ता गर्नेको संख्या धेरै थियो । अनलाइन सपिङमा ठगिएको भन्दै ४० जनाले प्रहरीमा मुद्धा दर्ता गरेका थिए । स्क्याम परेको भन्दै ३६ जनाले मुद्धा दर्ता गराएका थिए । 

आव २०७८/७९ मा अनलाइन ठगीमध्ये स्क्याममा परेको भन्दै सबैभन्दा धेरै २८ वटा मुद्धा दर्ता भएको थियो । सामाजिक सञ्जालमा ठगिएको भन्दै २६ जनाले मुद्धा दर्ता गराएको प्रहरीको तथ्यांक छ । आव २०७७÷७८ मा भने अनलाइन पेमेन्ट ठगी भएका २० वटा मुद्धा दर्ता भएको थियो । 

गत आवमा अनुमानित ८३ करोड ५९ लाख अनलाइन ठगी 

गत आर्थिक वर्ष २०८१/८२ मा अनुमानित ८३ करोड ५९ लाख रुपैयाँ अनलाइन ठगी भएको प्रहरीको तथ्यांक छ । यो रकम अघिल्लो आवको तुलनामा दुई गुणा भन्दा धेरै हो । अघिल्लो आव २०८०/८१ मा अनुमानित ३४ करोड ७२ लाख रुपैयाँ ठगि भएको प्रहरीको तथ्यांक छ । आव २०७९/८० मा ३५ करोड ८८ लाख, २०७८/७९मा २८ करोड ९ लाख, आव २०७७/७८ मा भने दुई करोड ४५ लाख रुपैयाँ ठगी भएको प्रहरीको अनुमान छ । 

गत आवमा समाजिक सञ्जालबाट मात्रै अनुमानित ६ करोड १६ लाख रुपैयाँ ठगी भएको थियो । अनलाइन बौकिङ मार्फत ११ करोड ५४ लाख रुपैयाँ ठगी भएको छ । अनलाइन सपिङ मार्फत एक करोड ११ लाख, अनलाइन पेमेन्ट मार्फत ९९ लाख ६० हजार, लोटरी मार्फत एक करोड ७१ लाख, स्पाम मार्फत तीन लाख, स्क्याम मार्फत ८४ लाख ३८ हजार, फिसिङ मार्फत १४ लाख १५ हजार र अन्य अनलाइन मार्फत ६१ करोड १ लाख रुपैयाँ ठगी भएको प्रहरीको तथ्यांक छ ।  

आव २०८०/८१ मा भने अनलाइन सपिङ मार्फत ९७ लाख ६६ हजार, स्क्याम मार्फत २५ करोड ३ लाख रुपैयाँ ठगी भएको थियो भने सामाजिक सञ्जाल मार्फत ५७ लाख ८५ हजार ठगी भएको प्रहरीको तथ्यांक छ । 

पाँच वर्षमा अनलाइन ठगीमा संलग्न दुई हजार १४५ पक्राउ

अनलाइन ठगीमा संलग्न दुई हजार १४५ जनालाई नेपाली प्रहरीले पक्राउ गरेको छ । विगत पाँच वर्षको अवधिमा प्रहरीले दुई हजार ७३ नेपाली र ७२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६५८ जना नेपाली महिला छन् भने १४ जना विदेशी महिला छन् । 

प्रहरीको तथ्यांक अनुसार गत आवमा मात्रै अनलाइन ठगीमा संलग्न भएकामध्ये २२० जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये १७४ नेपाली पुरुष र १३ जना महिला छन् । यस्तै, २० जना विदेशी पुरुष र १३ जना नेपाली महिला हुन् । 

अघिल्लो आवमा प्रहरीले १५५ जना नेपाली पुरुष र ४३ जना महिलालाई अनलाइन ठगी मुद्धामा पक्राउ गरेको छ । सोही मुद्धामा प्रहरीले २५ जना विदेशी पुरुषलाई समेत पक्राउ गरेको छ । 

आव २०७९/८० मा भने ६१८ नेपाली पुरुष र ३२५ जना नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच विदेशी पुरुषलाई अनलाईन ठगी केशमा पक्राउ गरेको छ । आव २०७८/७९ मा भने ४३१ जना पुरुष र २७४ जना नेपालीलाई पक्राउ गरेको थियो । यस्तै, आठ जना विदेशी पुरुष र एक जना महिलालाई पनि प्रहरीले पक्राउ गरेको थियो । आव २०७७/७८ मा भने अनलाइन ठगीमा प्रहरीले ३७ जना नेपाली पुरुष र तीन जना महिलालाई पक्राउ गरेको छ । 

प्रविधिको विकास र पहुँच विस्तार भएसँगै अनलाइन ठगीको क्रम पनि बढेको हो । कुनै पनि ठाउँमा बसेर अनलाइनको प्रयोग गरी ठग्न सकिने भएको हुँदा यस्तो ठगी घटना जटिल बन्दै गएको हो । 
null