शीर्षकहरू

चार रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्यो कम्पनीहरुको ‘सर्टलिस्ट'

चार रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्यो कम्पनीहरुको ‘सर्टलिस्ट'

काठमाडौ। अर्थ मन्त्रालयले सरकारको स्वामित्वमा रहेका चारवटा रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि कम्पनीहरुको सर्टलिष्ट गरेको हो। मन्त्रालयले जनकपुर चुरोट काराखाना, बुटवल धागो कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि विभिन्न कम्पनीलाई सर्टलिष्ट गरेको हो।

मन्त्रालयले जनकपुर चुरोट कारखानाका लागि ८ वटा, नेपाल ओरियण्ड म्याग्नेसाइटका लागि ११ वटा, बुटवल धागो कारखानाका लागि १२ वटा र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि ११ वटा कन्सल्टिङ कम्पनीलाई सर्टलिष्टमा छनौट गरेको जनाएको छ।

सरकारले बजेटमार्फत यी चार वटै कम्पनीको सम्पत्ति व्यवस्थापन गरेर औपचारिक रुपमै खारेज गर्ने घोषणा गरेको थियो ।तीन महिना अघि गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले ७ वटा रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो । बजेटमा उल्लेख गरे बमोजिम नै मन्त्रालयले पहिलो चरणमा चार उद्योगको सम्पत्ति मूल्यांकन थालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि गरी ७ प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । जसमध्ये ३ सरकारी उद्योगको सम्पत्ति मूल्यांकनको लागि एडिबीको सहयोग गर्नेछ । बाँकी चार उद्योगको लागि परामर्शदाता नियुक्ति गरिएको हो ।

उक्त निर्णय अनुसार आंशिक रुपमा सञ्चालनमा रहेका उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको सम्पत्ति मूल्यांकन (डिडिए) एसियाली विकास बैंकको सहयोगमा गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । 

सरकारले सम्पत्ति मूल्यांकनको लागि आशयपत्र माग गरेका चार वटा उद्योगहरू नोक्सानीमा रहेका छन् । त्यस्तै, आंशिक सञ्चालनमा रहेका तीन उद्योग पनि नोक्सानीमा नै रहेका छन् । चार वटा उद्योगहरू लामो समय देखि बन्द अवस्थामा रहेका छन् । कुनै १४ वर्ष देखि बन्द छन् ।